
सामाजिक सञ्जालमा आएका सूचना र केही कुप्रचारले प्युठानको गतिविधि बाहिर आएका छन् । कोराना सङ्क्रमितलाई सीमानाकाबाट उद्धारको विषय र झिमरुक गाउँपालिकाका अध्यक्षसँग भएका कुराकानीको अडियो सार्वजनिक भएको छ । यी विषय केही दिनयतादेखि राजनीतिकरण गर्न खोजिएर छताछुल्ल भएका छन् । प्युठानका गतिविधि, राजनीतिमा अपरिपक्कता तथा काँचोपन र राजनीतिक पार्टीको आडमा राजनीतिलाई अवसरवादीले कसरी व्यापारको रूपमा प्रयोग गर्दा रहेछन् भन्ने नागरिकलाई बुझ्ने अवसर मिल्यो ।
विचारको आधारमा राजनीति गर्नेहरूले खबरदारी गर्नु र जनतालाई सचेत गराउनु सकारात्मक पक्ष हो । यसमा यो पङ्क्तिकारको विमति छैन । सत्ता वा राज्य र सरकारले गरेका गलत निर्णयको खबरदारी गर्ने र आफ्नो पक्षमा जनमत तयार गर्ने राजनीतिकर्मीको दायित्व पनि हो । तर राजनीतिक कर्मीको दायित्य त्यो होइन कि अनावश्यक कुनै अमूक पार्टीको आडमा अनावश्यक कुप्रचार गर्नु ।
त्यो राजनीतिक अपराध हो । त्यसले राजनीतिलाई सेवा नबनाएर पेशा–व्यवसाय र उद्योग बनाएर आफ्नो स्वार्थपूर्ति गर्न खाजेको प्रष्ट हुन्छ । सेवाको रूपमा राजनीति नगर्नेहरू कुनै पनि पार्टीका नेता र कार्यकर्ताको आशाअपेक्षा गर्नु हुदैन र सकिन्न । त्यस्ता व्यक्ति राजनीतिक क्षेत्रमा ढिलो वा चाँडो जनताका अगाडि नाङ्गिने र आफ्नै पार्टीमा त्यस्ता व्यक्ति लामो समय टिक्दैनन् ।
यो हाम्रो देशको राजनीतिक वृत्तमा प्रष्ट देखिएको छ, जसले पार्टीलाई भजाएर पार्टीको नाममा सस्तो लोकप्रियता कमाउनेहरू अन्ततः पाखा लाग्ने छन् । त्यसका लागि राजनीतिमा धैर्यता चाहिन्छ । जो आफ्नो स्वार्थका लागि राजनीतिमा लागेको छ, त्यसको वर्तमानमा केही चुरीफुरी होला तर राजनीतिमा उसको भविष्य हुँदैन । त्यस्ता व्यक्ति वा नेता पतन भएको हेर्नका लागि राजनीतिमा धैर्यता चाहिन्छ । तातै खाने छिटै मर्ने स्वभाव र व्यवहार राजनीतिमा फस्टाउँदैन, यो पङ्क्तिकार बुझाइमा ।
विश्वभरि ठुलो महामारीको रूपमा फैलिरहेको कोराना भाइरस नियन्त्रण, रोकथाम तथा आफ्ना नागरिक उद्धारको विषयमा प्युठानमा भएका काम र सामाजिक सञ्जालमा आएका सूचना र प्रचारबारे अहिले सामान्य चर्चाको विषय बनेको छ । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । कसैप्रति आपत्ति पनि छैन । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, राहत वितरण र आफ्ना नागरिक उद्धारको विषयमा समग्रमा प्युठानमा केही कमजोरी भएकै हो ।
काम गर्ने क्रममा गल्ती–कमजोरी हुन्छन् । गल्ती–कमजोरी सच्चाउँदै जानुपर्छ । राम्रा कामहरूको प्रोत्साहनका साथ अगाडि बढाउने र काम गर्दा भएका गल्ती–कमजोरीलाई सच्चाएर अगाडि बढ्नु नै मानवजातिमा महानता हो । जसले आफ्ना कमजोरीलाई सहजै स्वीकार गर्छ, त्यो व्यक्ति, त्यो नेता तथा कार्यकर्ता, जनप्रतिनिधि वा समाजसेवी त्यही नै भोलिका दिनमा सफल हुने हो । तर अनावश्यक रूपमा राजनीतिलाई भजाएर भएर गरेका सकारात्मक कामको कुप्रचार गर्नु राम्रो होइन । अहिले प्युठानको हकमा त्यस्तै भएको छः राम्रा काम नदेख्ने र सामान्यभन्दा सामान्य कमजोरीका विषयलाई लिएर तिललाई पहाड बनाउने ।
समग्रमा हेर्दा कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा देशभरको अवस्था कमजोर नै छ । त्यसमा प्युठान पनि अछुतो छैन । प्युठान र प्युठानका जनप्रतिनिधि छुट्टै ग्रहका होइनन् । देशभरका क्वारेन्टाइन कमजोर अवस्थाका छन् ।
उपचारका लागि अस्पताल छैनन् । भएकाको पनि सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन । कोरोना भाइरसको महामारी आउँछ भनेर सरकारले पहिल्यै क्वारेन्टाइन र अस्पताल बनाउनुपर्ने पनि थिएन । त्यही भएर पनि हाम्रोजस्तो अल्पविकसित देशमा यती ठुलो महामारी आउँदा समस्या हुनु पनि स्वाभाविकै हो । तर धेरै विषयमा सरकारले कमजोरी गरेको छ । त्यो सरकारले सुधार्दै लैजानुपर्छ । प्युठानको हकमा पनि ठ्याक्कै त्यही होजस्तो लाग्छ ।
प्युठानमा मात्र होइन, अरू जिल्लामा अझै समस्या छन् । यातायात व्यवसायीले व्यवहारमा सरकारलाई सहयोग गरेनन् । विशेष गरेर केन्द्रीय सरकार मूकदर्शक बन्यो, यातायातका साधन चलाउने विषयमा । सरकारको आफ्ना गाडी नभएको र व्यवसायीका गाडी चलाउन नसक्दा नागरिकले सास्ती भोग्नुपरेकै हो । यस्तो अवस्थामा प्रदेश सरकारको कुनै भूमिका देखिएन । स्थानीय सरकारले सक्दो गरेकै देखिन्छ ।
केन्द्रीय सरकारले यातायातका साधन चलाउन नसकेको अवस्थामा प्युठानका स्थानीय सरकारले त झनै चलाउन सक्ने अवस्था नरहन सक्छ । जिल्लामा भएका गाडी चलाउन स्थानीय सरकारले प्युठानमा पहल गरेकै हुन् । यो छर्लङ्ग नै छ । गाडीधनीहरूले गाडी दिँदा पनि चालकहरू गाडी चलाउन नमान्दा पनि समस्या आएको हो । प्युठानमा भने यातायात व्यवसायी तथा गाडीधनीहरूको मानवीय भूमिका कमजोर देखिएकै हो ।
उद्धार भन्ने नै जे जस्तो हुन्छ, त्यसैमा गर्ने हो । तर जिल्लामा गाडी हुँदाहुँदै ट्रक र टिप्पर प्रयोग नगरेको भए अति उत्तम हुने थियो । गाडीवालाहरू उद्धारका लागि ढुक्क भएर सीमा वा बोर्डरमा जान नमानेपछि ट्रक र टिप्परमा भए पनि उद्धार गरेर आफ्नै गाउँघरमा पूराउनुलाई बढी आलोचना नर्गदा नै राम्रो हुने छ । किनकि यो बेला राजनीति गर्ने होइन, महामारीका विरुद्व एक हुनु हो ।
आपत्मा परेका जिल्लावासी ट्रक र टिप्परमा भए पनि गाउँघरमा जान सहमत भएपछि उनीहरूकै खुशीमा उद्धार गरिएको हो । आपत्मा परेकालाई उद्धार गर्नु नै मानवीय धर्म हो । त्यसैले आपत्मा परेका नागरिकलाई प्युठानका सबै स्थानीय सरकारले साइकल, मोटरसाइकल, ट्याक्टर, ट्रक, भ्यान, बस वा अरू कुनै साधनमा भए पनि, जसरी भए पनि उद्धार गर्नु नै राम्रो हुने छ । उद्धार भनेको नै जे जस्तो सम्भव हुन्छ, जसरी हुन्छ, नागरिकको जीवन रक्षा गर्ने हो । यस विषयमा कसले के भन्छ ? के भन्दैन भन्ने विषयमा स्थानीय सरकारका प्रमुखले उद्धार कार्यमा लाग्नु आवश्यक छ ।
भारतको विभिन्न ठाउँबाट सीमामा आएका नागरिक पैदल, साइकलबाट गृहजिल्ला प्युठान पुग्न बाध्य भए । बस चल्न नसके पनि, ट्रकटिप्परबाट भए पनि आपत्बिपत्मा परेका आफ्ना नागरिकलाई उद्धार गरी गाउँघरमा ल्याउने काम गरेर प्युठानका स्थानीय सरकारले राम्रो काम गरेका हुन् । मालसामान बोक्ने ढुवानीका साधनमा नागरिकलाई भेडाबाख्राजस्तै कोचेर उद्धार गर्न हुने थिएन भन्ने कुरो पनि नराम्रो होइन ।
जिल्लामा थुप्रै गाडी थन्केर बसेको अवस्थामा ट्रकटिप्परको प्रयोग गर्नु त्यति राम्रो हुँदै होइन । तर आपत्कालीन अवस्थामा सीमानाकामा अलपत्र परेका नागरिकलाई ट्रकटिप्परमा भए पनि आफ्नो गाउँघरमा ल्याउने काम गरेर प्युठानका स्थानीय निकायले गुन लगाएकै हो ।
हरेक विषयवस्तुलाई द्वन्द्वात्मक तरिकाले बुझ्न र विश्लेषण गर्नुपर्छ । प्युठानका प्रतिपक्ष साथीहरूको यसैमा ठुलो कमजोरी रह्यो । यसैलाई भनिन्छ, राजनीतिमा अपरिपक्ता, काँचोपन, केटौलेपन र अदुरदर्शिता, जसले गर्दा राजनीति कमाउने भाँडो र व्यापार बन्यो प्युठानमा ।
यस्तो महामारीको बेलामा कसैलाई अनावश्यक आक्षेप लगाएर पानीमाथिको ओभानो बन्नु हुँदैन । यदि स्थानीय सरकार प्रमुखले आफ्ना नागरिकलाई उद्धारका लागि बस सञ्चालनका लागि पहल गरेका हैनन भने उनीहरूको ठुलो गल्ती हुने छ । त्यो भन्दा ठुलो गल्ती केही हुने छैन ।
त्यस्तो हो भने सार्वजनिक रूपमा माफी माग्नुपर्छ, स्थानीय सरकार प्रमुखले । तर प्युठानका स्थानीय सरकार प्रमुखले पहल गरे पनि समयमा बसको व्यवस्था हुन नसकेको र भारतको विभिन्न ठाउँबाट सीमामा आएर अलपत्र परेका नागरिकलाई छिटो उद्धार गर्नुपर्ने भएकाले ट्रक र टिप्पर प्रयोग गर्नुपरेको हो । यो कुरा अलपत्र पीडितले राम्रोसँग बुझेका छन् ।
केही व्यक्तिको राजनीतिक प्रभावमा परेका केहीले यो विषयमा बुझ्दै जाने छन् । अहिले आक्षेप लागेका स्थानीय सरकार र जनप्रतिनिधिले आपत्बिपत्को अवस्थामा गरेको कामको मूल्याङ्कन भविष्यमा हुने छ । तर स्थानीय सरकार र जनप्रतिनिधिले पनि काम गर्दा भएका कमी–कमजोरीलाई जनताको पक्षमा सुधार गर्दै जानुपर्ने हुन्छ । त्यसो गर्न नसके जनताले बहिष्कार गर्नेछन् ।
उद्धारको विषयमा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी र काङ्गे्रसका प्रमोद पोखरेलबिच मोबाइलमा भएको कुराकानी सुनियो । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको अडियोको कुरा दुवै जनाको आआफ्नो ठाउँमा ठिक छन् । स्थानीय सरकारको नियम पालना गर्नु गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिको प्रमुख दायित्व हो । हामीले उद्धार गर्छौं भन्नु पनि नराम्रो पक्ष होइन ।
तर सरकारको एकद्वारा प्रणाली मान्दैन, मैले उद्धार गर्छु भन्न खोज्नुले राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको प्रष्ट हुन्छ । यस्तो महामारीका बेला सबै मिलेर कोराना भाइरससँग लड्नुपर्छ र विदेशस्थित नेपाली नागरिकको उद्धार गर्नुपर्छ । गाउँपालिकाका अध्यक्षले सरकारको नीतिनियम मान्दा कसैले पनि आपत्ति मान्नु पर्दैन । गाउँपालिकाका अध्यक्ष तिलक जिसी, काङ्गे्रसका प्रमोद पोखरेललाई जे उत्तर दिएका छन्, त्यो ठिक छ ।
अध्यक्ष कहिँ कतै चुकेका छैनन् । खरो स्वभावका अध्यक्ष मसिनो स्वरले बोलेका मात्र सुनिन्छ । उनको कमजोरी त्यसैमा छ । पालिकाको कोषमा पैसा जम्मा गर्नुस्, गाउँपालिकाको मातहतमा काम गरौँ भनेर अध्यक्ष तिलक जिसी कहिँ कतै चुकेका छैनन् । धमिलो पानीमा माछा मारेर राजनीतिक स्वार्थ कसैको पूरा हुँदैन । न त गाउँपालिकाका अध्यक्ष वा अरू कुनै को ।
यो विषयमा अनावश्यक राजनीति गर्न खोजिएको प्रष्ट छ । देशभरका सबै गाउँपालिकाले भन्दा पहिल्यै झिमरुकवासी विदेशमा कति छन् भन्ने तथ्याङ्क निकाल्ने गाउँपालिका पहिलो हो । २९ देशमा ४७ सय नागरिक रहेको तथ्याङ्क सार्वजनिक गर्ने पहिलो गाउँपालिका झिमरुक भनेर प्रचार गर्ने हिम्मत गर्नुपर्दथ्यो ।
अहिलेसम्म भारतबाट करिब चार सयभन्दा बढीलाई उद्धार गरी झिमरुकले क्वारेन्टाइनमा राखेको छ । के यो काम होइन ? सबैजसो वडामा क्वारेन्टाइन बनाएको छ, के यो नराम्रो काम हो र ? सरकारको एकद्वार प्रणालीको आधारमा देशभरका स्थानीय सरकारले राजनीतिकर्मी, उद्योगी–व्यवसायी, समाजसेवीले सहयोग गर्दै आएका छन् ।
झिमरुक गाउँपालिकाले एकद्वार प्रणालीमा काम गर्नुपर्छ भन्नु के गलत हो ? सरकारको प्रतिपक्ष पार्टी नेपाली काङ्गे्रससहित मधेशवादी पार्टी र अन्य पार्टीले पनि सरकारको खातामा आर्थिक सहयोग गरेका छन् । दैनिक उपभोग्य वस्तु पनि एकद्वार प्रणालीको आधारमा सरकारको मातहतमा राहत बाँडिएको छ ।
अन्यत्र सबै ठाउँमा एकद्वार प्रणालीबाट आर्थिक सङ्कलनदेखि राहत बाँड्ने काम हुने अनी झिमरुक गाउँपालिकामा एकद्वार प्रणालीको पालना गर्न नपर्ने ? यो कस्तो विचित्रको राजनीतिक बेइमानी हो । यस्तो कहालीलाग्दो अवस्थामा पनि प्रतिपक्षबाट अनावश्यक राजनीति गर्नुलाई कदापि राम्रो मानिँदैन । एकद्वार प्रणालीबाट काम गर्नु नै उत्तम हो । सरकारले अघि सारेको एकद्वार प्रणाली मन नपरे त्यसको सुधारका लागि प्रतिपक्षले केन्द्रीय सरकारबाटै पहल गर्नुपर्छ, या सबै मिलेर सुधारका लागि दबाब दिनुपर्छ ।
त्यतातिर प्रतिपक्षको ध्यान जान आवश्यक हुन्छ । आफूलाई प्रतिपक्ष बताउने, काम केही नगर्ने, जेमा पनि विरोध गर्ने—त्यो प्रतिपक्ष हुँदैन । प्रतिपक्षका पनि आफ्नै राजनीतिक र मानवीय धर्म छन् । राम्रो कामको समर्थन गर्ने र नराम्रो कामको विरोध गर्ने, सत्ताको प्रतिवाद गर्ने खास प्रतिपक्षको धर्म हो । प्रतिपक्षबाट घटिया काम भएका छन् । प्रतिपक्षले उठाएका कुराप्रति पनि सत्तापक्षले सुन्नुपर्ने हुन्छ । तर हुनै नसक्ने प्रतिपक्षका कुरा सुन्न आवश्यक हुन्न । जनताको पक्षमा डटेर झिमरुक गाउँपालिकाले काम गर्न जरुरी छ ।
झिमरुक गाउँपालिकाले मात्र सीमानाकाबाट ट्रक, टिप्परमा अलपत्र नागरिक उद्धार गरेको होइन, यसमा काङ्गे्रसजन प्रष्ट हुन जरुरी छ । आफूले केही नगर्ने र अरूले गरेको पनि देख्न नचाहनेलाई जनपक्षीय काम गरेर परास्त गर्नुपर्छ र राजनीतिकर्मीले राजनीतिक रूपमा शिष्ट तरिकाले प्रतिकार गर्नु नै बहादुरी हुने छ । यस्तो महामारीको बेलामा पनि भ्रम सिर्जना गरेर सर्वसाधारण जनतामाथि भ्रमको राजनीति कसैले नगरौँ ।
आफूबाट हुने र भएका गल्ती सहज रूपमा स्वीकार गरौँ, बरु बाख्राका खोरजस्ता क्वारेन्टाइन कसरी सुधार गरेर उचित व्यवस्थापन गर्न सकिन्छ ? केन्द्र र प्रदेश सरकारलाई खबरदारी गरौँ । प्युठान आफैमा राजनीतिक रूपले सचेत नागरिक भएको जिल्ला हो । विपीको आदर्शलाई बुझेका सच्चा काङ्गे्रसले यो विषय प्रष्ट रूपमा बुझेका छन् । आफ्नो राजनीतिक मूल स्प्रिटलाई आत्मसात गरी झिमरुकलाइ नमुना बनाउन लागौँ ।
समाजमा गलत भ्रम सिर्जना गर्नेहरू आफै पाखा लाग्ने छन् । राजनीतिक रूपमा कसैमाथि पूर्वाग्रही भावना नराखौँ । अनावश्यक राजनीतिक पूर्वाग्राही राख्ने र राजनीतिलाई मागीखाने भाँडो बनाउनेहरू समाजको अगाडि घुडा टेक्ने छन् । त्यसैले धैर्यता गरौँ । हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने काम नगरौँ ।