मेरो गणतन्त्र

कविता
मूर्दाबादको कालो ब्यानर
रत्नपार्कको पर्खालमा झुण्डाउदै
शाही निरंकुशता ढाल्न
म कुँदिरहेको थिए
बसन्तको आगमनमा प्रत्यक दिन
एक , दुई , चार , दश हुँदै सयौं फूलहरु
फक्रिरहेका थिए
तर , समाज बिथोलेर
जिविका चलाउनेहरु
अश्रुग्याँसको पहरा छोड्दै
निर्धा फूलहरुमा आगो सल्काएर
बसन्तलाई नाङ्गो पारिरहेका थिए
ऊनलाई के थाहा
काँडाका गुच्छाहरु भित्र पनि
कोपिलाहरु मुस्कुराइरहेका हुन्छन्
र स्वच्छन्दताका आँकुराहरु
बैशाख जेठको हुरि संगै
हुनहुनाइरहेका हुन्छन्
आन्दोलनका बेगहरु आँधि बनेर
ज्वारभाटा झैं उफ्रिदैछन्
मुक्तिको बाटोमा लामा लस्करहरुले
शहर , गाँउ ,सडक , चोक , गल्ली
सबै घेरिरहेका छन्
बिचार र चेतनाले अघि बढेको
मान्छेको यात्रा हो यो
न्याय र समानताको
मुक्ति र स्वतन्त्रताको लागी
जनआक्रोस र जनबिद्रोह हो यो
गोलिका छर्राहरुले छाती छिचोल्दा पनि
धुपले तातेको धर्ति चुम्दै
प्रतिगमनका कर्फ्युहरु तोड्दै
रगत र पसिनाका धाराले
शरिर सिंचित गर्दै
शोषणको साम्राज्य ढाल्न निस्केको म
दानबताको निर्दयी नियम तोड्न
तानाशाहको निर्मम सत्ता ढाल्न
कलेजको पाठ घोक्न छोडेर
गगनभेदी नारा घन्काउदै
इतिहाँस बदल्दै नयाँ समाज
निर्माण गर्न निस्केको म
अनि त गणतन्त्र आयो
तर फेरि निर्धा मान्छेहरुको अस्थिपन्जरमाथी
आलीशान दरवार ठड्याउने होडबाजी
चलिरहेको छ
मेरो उर्वर बर्तमान र
सुन्दर बर्तमानमाथी बज्रपात गर्न
सत्ताको रसस्वादनमा मात्तिएका
ब्वाँसाहरु सलबलाईरहेका छन्
आज मेरा रहरलाग्दा क्षितिजहरुलाई
ओझेल पारेर
निर्जिब र संबेदनहिन सुन्दरतामा
दरिद्रताको पर्खाल खडा गरिरहेका छन्
जसले बादल च्यातेर घाम निकाल्यो
उसको सपनामा कहिल्यै
घाम उदाउन सकेको छैन
आज कोहि फुर्किएर बाँच्नुपर्ने
कोहि निस्सासिएर मर्नुपर्ने
कहाँ गए समानताका नारा
कहाँ हराए मुक्तिका सपना
अब इतिहाँस आँशुले होइन
रगतले लेख्नुछ
देश कायरताले होइन
क्रान्तिले बनाउनुछ
अब जिवनको गोरेटोलाइ
सिङ्गो मुक्तिमा अनुबाद गर्नुछ
जनताको अदम्य साहस र
सौर्य बटुलेर
दुषित सत्तालाई पराजीत गर्नुछ ।
गणतन्त्र दिवसको शुभकामना ।
अनिलकिशाेर घिमिरे
२०७७ जेष्ठ १५

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार