
बुटवल । नेफ्स्कूनका सञ्चालक सदस्य सन्दिप सापकोटाले सहकारी मूल्य, मान्यता र सिद्धान्तको परिधिभित्र सञ्चालित संस्थामा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । सहकारीको जग यसका मूल्य, मान्यता र सिद्धान्त भएको प्रष्ट पार्दै उहाँले जग बलियो भएको संस्थामा सुशासनको समस्या नभएको बताउनुभएको हो । रुपन्देहीको बुटवलस्थित श्री मंगलमय बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै प्रमुख अतिथि नेफ्स्कून सञ्चालक सदस्य सापकोटाले बाटो बिराएका संस्थाहरुमा मात्र समस्या आएको उल्लेख गर्नुभयो ।
सहकारीमार्फत सदस्य र समुदायको हितमा थुप्रै काम भएको चर्चा गर्दै उहाँले सहकारी अभियन्ताहरुले पनि स्वयंसेवी भावनासहित काम गरेको बताउनुभयो । उहाँले सहकारीको माया भएका अभियन्ताहरुले घरको दालभात खाएर अभियानको हितमा काम गरेको दाबी गर्नुभयो । केही संस्थामा पदको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा लिप्त भएकाहरुका कारण समस्या आएपनि सदस्य केन्द्रीत संस्थाहरु निर्धक्क साथ चलेको उहाँले उल्लेख गर्नुभयो ।
संस्थाकी कार्यवाहक अध्यक्ष बुधमाया पुनःको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका प्रमुख प्रकाश अधिकारी, राष्ट्रिय सहकारी बैंकका वुटबल शाखा प्रमुख, संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, संस्थाका सल्लाहकार तथा सदस्यहरुको उपस्थिति रहेको थियो । ४९ करोड ९५ लाख बढी कूल सम्पत्ति रहेको संस्थामा ४ करोड २५ लाख बढी सेयर पुँजी रहेको छ भने ३ करोड ९१ लाख बढी जगेडा तथा अन्य कोष रहेको छ । यस्तै, ४० करोड बढी निक्षेप संकलन गरेको साकोसले ३८ करोड बढी ऋण लगानी गरेको छ भने १ करोड १३ लाख बढी मुनाफा गरेको छ । संस्थामा हाल १४ सय बढी सदस्य रहेका छन् । साधारण सभाले विभिन्न प्रतिवेदन तथा कार्यविधिहरु समेत पास गरेको छ ।