
टेकराज भुसाल,
बुटवल । भूमिकास्थान नगरपालिका १० धनचाैर सेङलेङ्गमा रहेको सत्यदेवी आधारभूत विद्यालयले ४८ औं वार्षिकोत्सब, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार एक समारोहबीच नगरप्रमुख झविलाल थापाले विद्यालयको वार्षिकोत्सब, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमकाे उद्घाटन गर्नुभएको हो। साे अवसरमा बाेल्दै नगरप्रमुख थापाले भूमिकास्थानको समग्र शैक्षिक अवस्था र गुणस्तरले लगानी अनुसार प्रतिफल निकाल्न नसकेको बताउनुभएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाले बिशेष योजना संचालन गर्न लागेको जानकारी गराउँदै नगर प्रमुख थापाले विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको हातेमालोको खाँचो औल्याउनुभएको छ ।
भुमिकास्थानले कृषि, पर्यटन र उद्योगलाई आर्थिक मेरुदण्डको रुपमा लिएको भन्दै नगरप्रमुख थापाले नगरभित्र रहेका बाँझो जमिनमा व्यवसायिक कृषि खेतीको थालनी गरि बेरोजगारहरुलाई गाउँमै काम दिनेगरि अगाडि बढेको बताउनुभएको छ । हरेक नागरिक केही न केही उत्पादनमा जोडिनु आजको आवस्यकता भएको भन्दै नगरप्रमुख थापाले कर्मशिल जनशक्ति परिचालन मार्फत नागरिक र पढ्दै,कमाउँदै, रमाउँदै विद्यालय कार्यक्रम मार्फत विद्यार्थिलाई उत्पादनमा जोड्ने अभियान संचालन गरेको जानकारी दिनुभएको छ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटाले शैक्षिक गुणस्तर दिन नसके विद्यालयमा विद्यार्थि घट्ने गाउँमा मान्छे घट्ने दर्दनाक स्थिति आउने भन्दै गम्भिरताका साथ शिक्षा सुधारमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा नम्बर १० का सदस्य गिरबहादुर नेपाली, वडा सदस्य जनकलाल गैरे, विभिन्न विद्यालयका प्रअ, राजनीति दलका प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बाेल्दै शिक्षामा गुणस्तर सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।
विद्यालयका प्राचार्य बिष्णु बन्जाडेले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यालयले आन्तरिक रुपमा संचालन गरेका विभिन्न परिक्षा, खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।