
गोपालप्रसाद भट्टराई
पौष-१०,अर्घाखाँची। गुल्मीको खज्र्याङ्गमा विशेषज्ञ सेवा सहितको निजि अस्पताल संचालनमा आउने भएको छ । खज्र्याङ्ग पब्लिक हेल्थ लिमिटेड र लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको संयुक्त लगानीमा अर्घाखाँची, गुल्मी र पाल्पाको संगम स्थल खज्र्याङ्गमा १५ सैयाको सुविधा सम्पन्न पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रा.ली.संचालन हुने भएको हो ।
“गुल्मी,अर्घाखाँची र पाल्पाको ऐक्यवद्धता– गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” नाराको साथ २०७३ सालबाट अस्पताल संचालनको निम्ती स्थानियले थालेको पहलले ७ बर्षपछि सार्थकता पाएको खज्र्याङ्ग पब्लिक हेल्थ लिमिटेडका अध्यक्ष सरोज पाण्डेको भनाई छ । २०८० पौष १४ गतेबाट औपचारिक संचालनमा आउने हस्पिटलको सेवाप्रवाह सम्बन्धि जानकारी दिन संचालक समितिले सोमबार हस्पिटलकै सभाहलमा पत्रकार सम्मेलन समेत गरेको छ ।
पत्रकार सम्मेलनमा गराइएको जानकारी अनुसार पौष १४ गतेबाट सेवा सुभारम्भ गर्ने हस्पिटलले उक्त दिन ५ वटा बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । अर्घाखाँचीको छत्रदेव, पाणिनी, गुल्मीको छत्रकोट, गुल्मी दरबार, रुरुक्षेत्र र पाल्पाको रैनादेवीछहरा गाउँपालिका गरि ६ वटा पालिकाका १ लाख भन्दा बढि जनसंख्यालाई लक्षित सेवाग्राही भित्र राखेको उक्त हस्पिटलले १ जना बिशेषज्ञ र २ जना मेडिकल अधिकृत सहितको सेवा प्रदान गर्ने गरि संचालनको तयारी थालेको पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रा.ली.का कोर्डिनेटर नारायण प्रसाद अर्यालले बताउनुभएको छ ।
पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रा.ली.मा आएर पैसाको अभावमा उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने लुम्बिनी मेडिकल कलेजका संचालक राम प्रसाद पोख्रेलको भनाई छ । उहाँका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, अन्तरंग सेवा, भिडियो एक्सरे सेवा, इसिजी सेवा र प्रयोगशाला सेवा प्रदान गर्नेछ । यस्तै शनिबार बाहेक हरेक दिन ओपिडि सेवा पनि संचालन गर्नेछ ।
करिब १० करोडको लागतमा संचालन सुरु हुने पब्लिक लुम्बिनी युनाइटेड हस्पिटलका हरेक सेवा गुणस्तरिय हुने हस्पिटल प्रा.ली.का अध्यक्ष गोपाल बहादुर पोख्रेलको दाबी रहेको छ ।
अध्यक्ष पोख्रेलले अस्पतालले नाफामुखी भन्दा पनि सामाजिक उत्तरदायित्व अन्तरगत लक्षित समुह र गरिबलाई बिशेष छुटमा सेवा दिने समेत वचन दिनुभएको छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल र गुल्मीका अध्यक्ष टोपलाल अर्याल सहित दुइ जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।