अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम २०८० अन्तरगत पौष १४ गतेदेखि वडातहमा रिर्पोटिङ्ग सुरु हुनेः प्रवक्तामा हृदय भुसाल चयन

गोपाल प्रसाद भट्टराई
पौष–१३,अर्घाखाँची।   नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा संचालन हुने अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० अन्तरगत भोलीदेखि वडागत रिर्पोटिङ्गको कार्यक्रम सुरु हुने भएको छ । आसन्न माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट समुद्घाटन हुने कार्यक्रमलाई सफल पार्न जिल्लाका ६१ वटै वडामा स्थलगत रिर्पोटिङ्ग हुने भएको हो ।
शुक्रबार सन्धिखर्कमा सम्पन्न पत्रकार महासंघ अर्घाखाँची र क्रियाशिल पत्रकारविचको बिस्तारित बैठकले प्रति वडा २ जना पत्रकार पुगेर त्यहाँका महत्वपूर्ण पर्यटकिय क्षेत्रको तथ्याकं संकलन गर्ने गरि जिम्मेवारि बाँडेको कार्यक्रम मुल आयोजक समितिका संयोजक अशोक खनालले जानकारी दिनुभएको छ । पौष १४ गतेदेखि पौष १८ गतेसम्म वडाभित्रको रिर्पोटिङ्ग सम्पन्न गरि प्रतिवेदन बुझाइसक्नुपर्ने पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणी भुसालको भनाई छ ।
आर्थिक समृद्धिका निम्ती महाअभियान नाम दिइएको अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रमलाई सफल पार्न आज बसेको बिस्तृत बैठकले बिभिन्न जिम्मेवारि समेत बाँडफाँड गरेको छ । पत्रकार महासंघका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक खनालका अनुसार बैठकले अभियानको प्रवक्तामा पत्रकार महासंघका जिल्ला सह–सचिव हृदय कुमार भुसाललाई तोकेको छ ।
बैठकले अशोक खनाल संयोजक, पत्रकार महासंघका पूर्व अध्यक्ष द्धोय शोभाखर पन्थी,हिम लेकाली,पूर्व सचिव सुर्य प्रसाद भुसाल, सह–सचिव हृदय भुसाल, कार्यसमिति सदस्य गोपाल प्रसाद भट्टराई र बिष्णु खनाल सदस्य रहेको ७ सदस्यिय सचिवालय गठन गरेको छ । यस्तै हृदय कुमार भुसाल संयोजक, जितेन्द्र खत्री, बिष्णु खनाल, लक्ष्मण घिमिरे, बाबुराम रसाइली, नविन रसाइली र महेश भुसाल सदस्य रहेको ९ सदस्यिय कार्यालय व्यवस्थापन उप–समिति गठन गरि जिम्मेवारी तोकिएको छ ।
गत पौष १ गते अभियानको लोगो सार्वजनिक गरेर कार्यक्रमको औपचारिक घोषणा गरेको पत्रकार महासंघले हिजो बिहिबार जिल्ला स्थित सरोकारवालासंग सर्वपक्षिय बैठक समेत गरेको छ । जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाको संयोजनमा बसेको बैठकले कार्यक्रम उद्घाटन समारोहको स्थल टुडिखेललाई तय गरेको छ ।
बैठकले पर्यटन राज्यमन्त्री शुसिला श्रीपाली संयोजक, प्रतिनिधिसभा सदस्य बिजुला रायमाझी,प्रदेशसभासदस्य द्धोय चेतनारायण आचार्य र रामजी घिमिरे रहेको ४ सदस्यिय सल्लाहकार समिति, जिल्ला समन्वय प्रमख जीवनारायण कोइराला संयोजक, ६ वटै पालिकाका प्रमुख, जिल्ला स्थित राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहित सुरक्षा निकायका प्रमुख सदस्य रहेको निदेशक समिति र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल संयोजक र कार्यसमिति सहित क्रियाशिल पत्रकार सदस्य रहेको मुल आयोजक समिति बनाएको छ ।
महासंघले जिल्लाका पर्यटकीय क्षेत्रको पहिँचान गरि धेरै भन्दा धेरै पर्यटकलाई जिल्लामा ल्याउन यो कार्यक्रम आयोजना गर्न लागेको अभियानका प्रवक्ता हृदय भुसालले बताउनुभयो । “आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ यो कार्यक्रम संचालन गर्न लागिएको पत्रकार महासंघले जनाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार