
गोपाल प्रसाद भट्टराई
पौष–२०,अर्घाखाँची। स्वस्थ जिवन नै मानिसको सबैभन्दा ठुलो सम्पती भएको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समय पैसा, सुविधा र सम्पत्ति जोड्न मात्रै ध्यान दिंदा धेरैको स्वास्थ्य जोखिममा पर्ने गरेको भन्दै उनिहरुले स्वस्थ आहार र स्वस्थ बिहार यापन गर्न आव्हान समेत गरेका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीको शुक्रबार सन्धिखर्कमा सम्पन्न छैठौं बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले जिल्ला अस्पताललाई सुविधा सम्पन्न र प्रविधियुक्त बनाउन सरोकारवाला सबैको सहयोगको खाँचो औल्याउनुभएको छ । पछिल्लो समय मुटु रोगको जोखिम बढ्दै गएकोमा सचेत रहन आग्रह गर्दै नगरप्रमुख श्रेष्ठले जिल्ला अस्पतालमा इको ल्याव सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुख कमल प्रसाद भुसालले अहिले मानिसको ध्यान स्वास्थ्यमा भन्दापनि सुविधा भोगमा बढि भएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । हाइब्रिड र प्याकेटिङ्ग जंकफुड जस्ता खानाहरुको सेवनले मानिसको स्वास्थ्य जोखिम बढाउँदै लगेको भन्दै संस्थापक नगरप्रमुख भुसालले रैथाने बालीको व्यवसायिक विकास र उपयोगमा ध्यान दिन अपिल गर्नुभएको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीले अस्वस्थ खानपान र अस्तव्यस्त जिवनशैलीलाई सुधार गरेमा मानिस स्वास्थ रहने बताउनुभएको छ । यसो गर्दापनि स्वास्थ्यमा समस्या आइहालेमा नजिकैको स्वास्थ्य संस्था वा डाक्टरसंग जाँच गराइहाल्न पनि उहाँको आग्रह छ । “मुटुरोग सबै उमेर समुहकालाई लाग्न सक्छ”, डाक्टर तिवारीले भन्नुभयो, “ टन्सिल, उच्च रक्तचाप, मधुमेह र निमोनियाका बिरामीले रोग पालेर बस्नुहुँदैन ।” उहाँले अगाडि थप्नुभयो, “मधुमेह,टन्सिल र प्रेसर पहिचान भइ औषधि सेवन गरेमा ठुलो समस्या हुँदैन तर औषधि नखाने गर्दा मुटुको ठुलै समस्या आउन सक्छ ।”
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बनजाडे, छाँया हस्पिटल प्रा.ली.का प्रमुख दल बहादुर के.सी. र पत्रकार अर्जुन भुसालले पनि मन्तव्य राख्दै आफ्नो मुटुलाई माया गर्नुपर्नेमा जोड दिनुभएको छ । शरिरको सबैभन्दा महत्वपूर्ण अंग नै मुटु भएकोले यसलाई स्वस्थ राख्न सबैले ध्यान दिनुपर्ने उहाँहरुको धारणा छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता, सदस्य कविता भुसालको स्वागत मन्तव्य र सचिव मेनुका पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा अभियानलाई सु–सुचित गराउनेगरि संस्थाको हितमा कलम चलाएको भन्दै पत्रकार अर्जुन भुसाललाई सम्मान गर्नुका साथै संस्थाका नयाँ आजिवन सदस्यलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
संस्थाका पदाधिकारी,पूर्व तथा संस्थापक पदाधिकारी,आजिवन सदस्य र सरोकारवालाको उपस्थितिमा सम्पन्न साधारणसभाले अध्यक्षबाट प्रस्तुत भएको प्रगतिप्रतिवेदन र सचिवबाट प्रस्तुत भएको आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
मुटुरोगलाई नियन्त्रण गर्ने मुख्य उदेश्य रहेको यस संस्थाले अर्घाखाँचीमा बिभिन्न समयमा निशुल्क मुटु शिविरको संचालन, मुटुरोगीको उपचारमा सहयोग, बिभिन्न स्वास्थ्य उपचारका उपकरण बितरण,स्वास्थ्य सचेतना सम्बन्धि रेडियो जिंगल प्रसारण, अन्तरक्रिया,ब्रोसर बितरण जस्ता कार्यक्रम गर्दै देशभरिकै शाखामध्यकै अब्बल साबित हुँदै आइरहेको छ ।
९० जना सदस्य रहेको प्रतिष्ठानमा अध्यक्ष कृष्ण प्रसाद भुसाल नेतृत्वमा आएदेखि सदस्यता बढाएर १ सय ४० पु¥याइएको छ ।
प्रतिष्ठानका केन्द्रिय सदस्य एवम् कार्डियोलोजिष्ट डाक्टर सुमन्तराज बन्जाडेको सहयोगमा २५ सदस्यिय खिल्जी उपशाखा र राजन वि.सी.को सहयोगमा ४२ सदस्यिय ठाडा उपशाखा गठन गरिएको अध्यक्ष भुसालले जानकारी दिनुभएको छ ।