नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँची शाखा बन्यो देशकै उत्कृष्टः ६६ शाखालाई पछि पार्दै पुरस्कृत

गोपाल प्रसाद भट्टराई
पौष–२७,अर्घाखाँची। नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँची उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको छ ।

ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३२ औं केन्द्रीय सभामा उपत्यका बाहिरका ६६ शाखालाई पछि पार्दै उत्कृष्ट शाखाको रुपमा अर्घाखाँची पुरस्कृत भएको हो ।
काठमाडौं उपत्यका बाहिरका शाखाहरु मध्ये विगतका वर्षहरुमा गरेका प्रशंसनीय कार्यहरुको प्रगतिका आधारमा २०६७ सालमा स्थापित अर्घाखाँचीलाई उत्कृष्ट शाखा घोषणा गर्दै यस जिल्लाको अक्षयकोषमा सहयोग प्रदान गर्ने गरी ५० हजार रुपैंया पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको हो ।
प्रतिष्ठानले केन्द्रीय सभाबाट विगत वर्षमा अर्घाखाँची शाखाबाट भएका कार्य सम्पादनको मूल्याङ्कन गरि उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरेको नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
केन्द्रीय सभाको अवसरमा प्रतिष्ठानका केन्द्रीय संस्थापक अध्यक्ष मिर्गेन्द्रराज पाण्डे र पूर्व अध्यक्ष डाक्टर प्रकाशराज रेग्मीले ५० हजार सहित सम्मानपत्र प्रतिष्ठानका अर्घाखाँची शाखाका अध्यक्ष कृष्ण प्रसाद भुसाल, सचिव मेनुका पौडेल र अर्घाखाँची घर भै हाल काठमाडौंमा रहेरपनि जिल्लालाई निरन्तर सहयोग गर्दै आउनुभएका कार्डियोलोजिष्ट डाक्टर सुमन्तराज बन्जाडेलाई प्रदान गर्नुभएको हो ।
अर्घाखाँचीमा २०६७ सालमा स्थापना भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले गत बर्ष खिल्जी र ठाडामा उपशाखा समेत गठन गरेको छ । यस्तै अर्घाखाँचीका दुरदराजका ग्रामीण क्षेत्रहरुमा मुटुसम्बन्धी निःशुल्क शिविर, जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री बितरण र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहको प्रतिष्ठान अर्घाखाँचीका सचिव मेनुका पौडेलले बताउनुभएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार