संघीयता खारेजीको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता

जेठ २१ काठमाडौ ।      नेपाल कम्युनिस्ट पार्टी (मसाल) को बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । बुधबार राजमो सांसद दुर्गा पौडेलले संसद सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको हो ।

राजमोले संघीयता खारेजीका लागि लगातार प्रयत्न गर्दै आएको थियो । यो विषयमा संविधान संशोधनका लागि उपयुक्त मौकाको खोजीमा रहेकाले त्यो मौका अहिले आएको उपाध्यक्ष पौडेलले बताउनुभयो ।

राजमोले दर्ता गराएको प्रस्तावमा संघीयताका प्रादेशिक संरचना सम्बन्धी सबै प्रावधान खारेज गर्न प्रस्ताव गरिएको छ । त्यसको ठाउँमा जिल्ला समन्वय समितिमा जिल्ला सभा गठन गर्न तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन प्रस्ताव गरिएको छ ।

संघीयताको प्रादेशिक संरचना अत्यधिक खर्चिलो भएको र जनताले धान्न नसक्ने भएकोले संघीयता खारेज गरी स्थानीय स्वायत्त शासन प्रणाली अपनाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको पौडेलले बताउनुभयो ।

सो सम्बन्धी प्रस्ताव लिएर अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेललगायतका नेताहरु मंगलबार नै संसद सचिवालय पुग्नुभएको थियो । तर, केही प्रक्रिया मिलाउनुपर्ने भएकाले मंगलबार सो प्रस्ताव दर्ता हुन सकेको थिएन ।

सरकारले नयाँ नक्सा अनुसार निशानछाप परिवर्तनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । राजमोले सो प्रस्तावलाई समर्थन गर्दै उपयुक्त समयमा संघीयता खारेजीका लागि प्रस्ताव दर्ता गर्ने बताएको थियो ।
तर, मधेशवादी दलहरुले सो प्रस्तावमाथि च्याँखे थाप्ने योजना अनुसार संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि आफूहरुले पनि आफ्ना मुद्दा अघि सार्न कुरिरहन आवश्यक नरहेको अध्यक्ष केसीले बताउनुभयो ।

स्रोत: युगदर्शन अनलाइन

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार