टेकराज भुसाल,
माघ १ अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको चाहान अनुसार विकासले गतिलिन नसकेको स्वीकार गरेका छन् । विकासले दु्रत रुपमा गतिलिन नसकेको बताउंदै विकासप्रति म पनि सन्तुष्टि छैन । विकासको गतिलाई तिव्रता दिने गरी सरकारले काम गर्ने उनले बताए ।
सोमबार अर्घाखाँचीको सन्धिखर्कमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजित पर्यटन प्रबर्द्धन कार्यक्रम-२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा व्यापक सुधार आएको दावी गरेका छन् । अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू बिरलै देखिने गरेकोमा यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभसंकेत भएको बताए ।
अघिल्लो वर्ष नीजि क्षेत्र निकै ठूलो संकटमा रहेकोमा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको बताए । विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार आएको तथा २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका छन्। अर्को वर्ष हामीले राम्रो प्रगति गर्नेछौँ।’’ प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा निरन्तर प्रयास गरिरहेको बताए ।
एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरू हासिल गरिएको दावी गर्दै प्रधानमन्त्री दाहालले भने – विदेशमा रहेका र अनौपचारिक क्षेत्रका लागि श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको छ।
देशका सबै सरकारी अस्पतालका १० प्रतिशत बेड गरिब, बिपन्न र असहाय नागरिकका लागि छुट्याउनुका साथै महिला, जेष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य प्रवर्धनका नमुना कार्यक्रमहरू लागू गरिएको प्रधानमन्त्रीले बताए ।।
उनले सुशासनका क्षेत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, अवैध सुन तस्करी प्रकरण लगायतका अनियमितताको छानविन गरी कानुनी कार्वाही अगाडि बढाइएको बताए ।
नागरिकताबिहीन लाखौं नेपालीलाई नागरिकता ऐन ल्याएर नागरिकता प्रदान गरिएको छ। मिटरब्याजलाई कानुनी रूपमै जघन्य अपराधको रूपमा किटानी गरी त्यसबाट पीडित लाखौं नागरिकलाई न्याय दिएको प्रधानमन्त्री दाहालले बताए ।
आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति भएको र त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाएको बताउंदै प्रधानमन्त्री प्रचण्डले भने – जनताको हितमा राम्रा कामहरु गर्नका लागि सरकार प्रतिवद्द रहेको छ ।