
गोपाल प्रसाद भट्टराई
फागुन–१५,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा नेवारी समुदायले कुल पुजा गर्ने भीमसेनथान मन्दिर निर्माण कार्य सुरु गरेका छ । सन्धिखर्क–१ र २ को संगमस्थल वाँगीखोला किनारमा बन्न थालेको संरचनाको बिषयमा केही मिडिया तथा सामाजिक सन्जालमा समेत विभिन्न कोणबाट सुचनाहरु सम्प्रेषण भएपछि मन्दिर निर्माण समितिले सोमबार निर्माणस्थलमै पत्रकार सम्मेलन गरि मन्दिर निर्माण गर्ने प्रष्ट पारेको हो ।
सार्वजनिक जग्गा (वाँगीखोला) अतिक्रमण गरि संरचना निर्माण हुन थाल्यो भनि भएको सुचनाको खण्डन गर्दै सम्पूर्ण नेवारहरुको कुलपुजा स्थलको रुपमा भिमसेनथानको मन्दिर निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष राजकुमार श्रेष्ठको भनाई छ ।
“अहिले सन्धिखर्क बजारमा बस्ती बाक्लो बन्दै जाँदा सामाजिक कार्य गर्नको लागि क्षेत्र अभाव हुने स्थिति देखिएको छ,” निर्माण समिति अध्यक्ष श्रेष्ठले भन्नुभयो,“त्यसैको समाधान स्वरुप किरियापुत्री बस्ने ठाउँ र मन्दिर बनाउन लागेका हौं ।” उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा भनेकै सार्वजनिक संरचना निर्माण गर्नलाई हो, यो अतिक्रमण होइन सदुपयोग हो ।”
भिमसेन मन्दिर निर्माण अभियानका अर्का एक प्रतिनिधि काजी श्रेष्ठका अनुसार उक्त स्थानमा सन्धिखर्कमा घरभाडामा बस्ने तर आफन्तको निधनमा किरिया गर्ने स्थान समेत नभएकाहरुको लागि बस्ने हल र नेवार समुदायको कुल पुजा स्थल निर्माण गर्ने गरि संरचना बनाउन लागिएको हो । “यो पवित्र कार्यमा तपाई हामी सबैको सहयोगको खाँचो हुन्छ, श्रेष्ठले भन्नुभयो,“ हामीले जग्गाको बिवाद नहोस भन्नकै लागि २०७४ सालमा ब्यानर टाँगेरै भिमसेनथान मन्दिर निर्माण हुँदैछ भने सुचना दिएका हौं ।” “कसैले दाबी बिरोध गर्नुभएन र ६ बर्षपछि अहिले हामीले निर्माण थालेका छौं ।” उहाँले अगाडि थप्नुभयो, “ यहाँभन्दा माथितिर खोलाको क्षेत्र १७ मिटर छ तर यहाँ हामीले निर्माण गर्नलागेको क्षेत्रमा १९ मिटर रहेको छ ।”
मन्दिर र उक्त किरियापुत्री बस्ने हल निर्माणको लागि कंहि–कतैबाट कुनै किसिमको बजेट व्यवस्थापन नभएको तर उपयोग गर्न सबैले पाउनेगरि नेवार समुदायका अगुवाबाट बजेटको जोहो गरि योजना अगाडि बढाइएको निर्माण समितिले जनाएको छ ।
नयाँ निर्माण हुने किरियापुत्री हल सहितको २ तले मन्दिर निर्माणको लागत के–कति लाग्छ भन्ने एकिन नभएपनि निर्माण सम्पन्न गर्नेगरि कोषको जोहो गर्न आफुहरुले सक्रियता देखाएको भिमसेन मन्दिर निर्माण अभियानका प्रतिनिधिहरुको भनाई छ ।
सार्वजनिक स्थलमा यसरी मन्दिर र किरियापुत्री हल बनाउँदा अपनाउनुपर्ने मापदण्डको बारेमा भने कोही कसैसंग कुनै किसिमको समन्वय नगरेको गर्नुपरे समन्वय गर्न तयार रहेको मन्दिर निर्माण समितिको भनाई छ । वाँगीखोला किनारमा बन्न लागेको उक्त संरचनाको बिषयमा अहिले सामाजिक संजाल तथा चिया–चौतारिमा सकरात्मक र नकरात्मक दुवैथरिका टिका टिप्पणी भइरहेको देखिएको छ ।