
गोपाल प्रसाद भट्टराई
फागुन–१७,अर्घाखाँची। सन्धिखर्कको टुडिखेलमा आयोजित ‘प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता २०८०’ को उपाधि अर्घाखाँची बुलेटिनले चुमेको छ । बिहिबार सम्पन्न फाइनलमा म्यान अफ द म्याच घोषित अर्घाखाँची बुलेटिनका बाबुराम थापाको महत्वपूर्ण ३ विकेट र १५ रनको योगदानले सौजन्य समाज किमडाँडालाई पराजित गर्दै उपाधि हात पारेको हो ।
फाइनल जितेर प्रथम स्थान हाँसिल गरेको अर्घाखाँची बुलेटिनले नगद रु.५० हजार सहित ट्रफी र उक्त टिमका खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । अर्घाखाँची बुलेटिनसंग पराजित भइ उपविजेता बनेको सौजन्य समाज किमडाँडाले नगद रु.३० हजारमा चित्त बुझाएको छ । दोस्रो स्थान हांसिल गर्ने किमडाँडाको टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको आयोजक नेपाल खेलकुंद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले जनाएको छ ।
नेपाल खेलकुंद महासंघको अधिवेशनमा सहभागि भइ फर्किने क्रममा दुर्घटनामा परि साहदत प्राप्त गर्नुभएका स्वर्गिय प्रकाश महतको प्रथम बार्षिक स्मृति दिवसमा उहाँको सम्मान स्वरुप नेपाल खेलकुंद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले यो प्रतियोगिता आयोजना गरेको हो ।
१३ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता अर्घाखाँची बुलेटिनका खेलाडी बाबुराम थापा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्न सफल हुनुभएको छ । उहाँले यो प्रतियोगिताभर भएका खेलमा आफ्नो टिमलाई १ सय १ रन र ५ विकेटको योगदान दिनुभएको छ ।
प्रतियोगिताको उत्कृष्ट बलर पनि विजेता अर्घाखाँची बुलेटिनकै सागर चौहान बन्नुभएको छ भने उदियमान खेलाडी मदन भण्डारी स्र्पोट एकेडेमीका समिर राउत घोषित हुनुभएको छ । प्रतियोगिताका विजेता टिम र खेलाडीलाई नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई र स्वर्गिय प्रकाश महतको श्रीमती इरा महत लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।
स्वर्गिय प्रकाश महतको गत वर्ष फागुन ७ गते खेलकुद महाँसघको महाधिवेशनमा सहभागी भई घर फर्किने क्रममा सडक दुर्घटना परि मृत्यु भएको हो ।