अर्घाखाँचीका ३ पालिकामा आयोजित शारिरिक अपाङ्गता परिक्षण घुम्ती शिविरबाट १ सय ९६ जनाले सेवा लिए

गोपाल प्रसाद भट्टराई
फागुन–१८,अर्घाखाँची । अर्घाखाँचीका ३ वटा पालिकामा आयोजना गरिएको शारिरिक अपाङ्गता परिक्षण घुम्ती शिविरबाट १ सय ९६ जनाले सेवा लिएका छन् । गत फागुन १५ गतेदेखि १७ गतेसम्म सन्धिखर्क, भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिका गरि ३ वटा पालिकामा छुट्टा–छुट्टै आयोजना गरिएका शिविरमा १८ बर्ष सम्मका शारिरिक अशक्तता भएका बालबालिकाले निःशुल्क सेवा प्राप्त गरेका हुन् ।
शारिरिक रुपमा अपाङ्ग भएकाहरुलाई उपचार र सहायता सामाग्री प्रदान गरि पूर्नस्थापन गर्ने उदेश्यका साथ स्थानिय सरकारको आर्थिक सहयोग र बाल अस्पताल तथा पूर्नस्थापन केन्द्र बनेपाको आयोजनामा घुम्ती शिविर गरिएको हो ।
फागुन १५ गते मालारानीमा आयोजना गरिएको शिविरमा २७ जना बालक र २३ जना बालिका गरि ५० जना शारिरिक अपाङ्गता भएका बालबालिकाले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ५ जनाको अर्थोपेडिक सहायक सामाग्री जाँच गरिएको छ । बैशाखी र गुड्ने मेच २÷२ जनालाई प्रदान गरिएको छ । भने ५ बालक र २ बालिका गरि ७ जनालाई शल्यक्रियाको लागि रिफर गरिएको घुम्ती शिविरका प्रतिनिधि सि.बि.आर.शालिकराम तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
यस्तै फागुन १६ गते भुमिकास्थानमा आयोजना गरिएको शिविरमा २८ जना बालक र २४ जना बालिका गरि ५२ जना शारिरिक अपाङ्गता भएका बालबालिकाले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ९ जनाको अर्थोपेडिक सहायक सामाग्री जाँच गरिएको छ । वाकर, बैशाखी र गुड्ने मेच २÷२ जनालाई प्रदान गरिएको छ । ७ बालक र २ बालिका गरि ९ जनालाई शल्यक्रियाको लागि रिफर गरिएको घुम्ती शिविरका प्रतिनिधि सि.बि.आर.तिमिल्सिनाको प्रतिवेदनमा उल्लेख छ ।
यता फागुन १७ गते सन्धिखर्कमा आयोजना गरिएको शिविरमा ५३ जना बालक र ४१ जना बालिका गरि ९४ जना शारिरिक अपाङ्गता भएका बालबालिकाले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ११ जनाको अर्थाेपेडिक सहायक सामाग्री जाँच गरिएको छ । यस्तै बैशाखी ८ जनालाई, वाकर ५ जनालाई, कृतिम खुट्टा ४ जनालाई, गुड्ने मेच ३ जनालाई, स्पिलिन्ट २ जनालाई र १ जनालाई प्लाष्टर लगाएर उपचार प्रदान गरिएको छ । शिविरबाट ९ बालक र ९ बालिका गरि १८ जनालाई शल्यक्रियाको लागि रिफर गरिएको घुम्ती शिविरका प्रतिनिधि सि.बि.आर.तिमिल्सिनाले तयार पार्नुभएको प्रतिवेदनमा उल्लेख छ ।
तिनवटै पालिकामा पालिकाका प्रमुख, उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत सहितका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाको उल्लेख्य सहयोगमा शिविर सफल रुपमा सम्पन्न भएको आयोजक संस्थाको तर्फबाट शिविरका फोकल प्रशन राजन भुसालले जानकारी दिनुभएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार