
सत्ता समीकरण फेरिएसँगै सर्किट ब्रेक लाग्ने गरेर बढेको बजार मंगलबार भने घटेको छ।
मंगलबार नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा पुगेको छ।
सोमबार अर्थमन्त्रीको रूपमा विष्णु पौडेलको नाम चर्चामा आएसँगै बजार बढेको थियो। तर, मंगलबार पौडेलको सट्टा वर्षमान पुनको नाम चर्चामा आएपछि लगानीकर्ता निरास देखिएका हुन्।
हुनतः सेयर बजारमा राजनीतिक प्रभाव क्षणिक हुने गर्छ। मंगलबार पनि बजार उच्च अंकले घट्नुको अर्थ प्रस्तावित मन्त्रीहरूको नाममा भइरहेको चर्चा नै मानिएको छ।
निजी क्षेत्रमैत्री भनेर चिनिएका पौडेलप्रति तुलनात्मक रूपमा लगानीकर्ताको विश्वास धेरै पाइन्छ। यसअघि अर्थमन्त्री हुँदा पौडेलकै पालामा नेप्सेले दुई पटक नयाँ उचाइ भेटेकाले पनि लगानीकर्ताको अपेक्षा उनीप्रति देखिएको हो।
मंगलबारको बजारमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रूपैयाँको सेयर कारोबार भएको छ।