मुख्यमन्त्रीसँग प्रधानमन्त्रीकाे भिडियाे कन्फ्रेन्स : ‘लकडाउनकाे पालना गर्नैपर्छ, नरम हुन सकिँदैन’

काठमाण्डौ – सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लकडाउन गरेको अवस्थामा प्रदेश र पालिकाले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट सबै मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको हो । भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोभिड १९ सङ्क्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा पालिका र सबै प्रदेशहरुमा भइराखेका कामहरुको जानकारी लिनुभएको छ ।

भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोभिड–१९ का विरुद्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरुको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । साथै कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा सङ्घ, प्रदेश र पालिकारबीच काम गर्नुपर्ने सन्दर्भमा छलफल भएको उहाँले बताउनुभयो ।

अहिले भइराखेका प्रयासहरु समन्वयात्मक ढङ्गले अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाइ गरिने, लकडाउनलाई निरन्तरता दिने र सङ्क्रमणको खतरालाई कुनै पनि भावुक कुराहरु गरेर लापर्वाही नगरिने विषयमा मुख्यमन्त्रीहरुलाई स्पष्ट हुन आग्रह गर्नुभएको छ । भिडियो कन्फ्रेन्समा कुनै पनि हिसाबले सङ्क्रमण फैलिने स्थिति नहोस् भन्नका लागि सुरक्षाकर्मी, प्रशासन, पालिका, प्रदेश सरकार र सङ्घीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो ।

नागरिकको जीवन रक्षाका लागि लकडाउन गरिएको हुनाले जीवन रक्षामा केन्द्रित हुने र नागरिकलाई दुःख दिनका लागि लकडाउन गरिएको होइन भन्ने विषयमा स्पष्ट गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको उहाँले बताउनुभयो । सरकारले योजनाबद्ध रुपले काम गरेको स्पष्ट पार्दै कुनै पनि समय वा १५/१५ दिनमा निर्देशन दिने तरिकाले काम नगर्ने र त्यस प्रकारको संयन्त्रको खोजी नगर्न पनि मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

नागरिकमा मनोवैज्ञानिक त्रास नहोस् भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्वरेण्टीनको व्यवस्था गर्नुपर्ने, क्वरेण्टीनमा बस्नुपर्नेलाई अनिवार्य क्वरेण्टीनमा राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । भिडियो कन्फ्रेन्समा सबै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्क्रमणको अवस्था खतरापूर्ण हुँदासम्म लकडाउन प्रति नरम हुन नहुने कुरा राख्नुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

मुख्यमन्त्रीहरुले छिमेकी देश भारतमा सङ्क्रमणको खतरा बढिरहेकाले लकडाउनको अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिनुभएको उहाँले बताउनुभयो । यस्तै स्वास्थ्य क्षेत्रमा पूर्वाधारहरु थपिएको र अझ अत्यावश्यक पूर्वाधारहरु प्रदेशमा पनि बढाउन केन्द्र सरकारले अझ बढी पहल गर्नुपर्नेमा सबै प्रदेशका मुख्यमन्त्रीहरुले जोड दिनुभएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार