
गोपालप्रसाद भट्टराई
चैत्र-०८,अर्घाखाँची । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले संघियतापछी भ्रष्टाचार न्यूनीकरणमा भुमिका प्रष्ट नहुदा समस्या निम्तिएको बताउनुभएको छ ।
व्यवस्था फेरिएपनी ऐन, कानुन नफेरिदा सुशासन कायम राख्न सरकारले उल्लेख्य भूमिका खेल्न नसकेको अख्तियार बुटवल प्रमुख पौडेलको तर्क छ ।
संघ,प्रदेश र स्थानीय तहको जिम्मेवारी तोकेर ऐन संशोधन गर्नुपर्नेमा उहाँको जोड छ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धनको उदेश्यले स्थानीय तहसंग अन्तरक्रिया अन्तरगत बिहीवार भूमिकास्थान नगरपालिकामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
समाजमा विचलन बढेको गतिमा उजुरी नपरेपनी तुलनात्मक रूपमा उजुरी दिनेको संख्यामा वृद्धि भएको अख्तियार बुटवल प्रमुख पौडेलले बताउनुभएको छ ।
स्थानीय तहमा शिक्षा, खानेपानी, स्वास्थ्य, कृषि अनुदान र वनक्षेत्रका उजुरी धेरै आएको भन्दै उहाँले स्रोतको क्षमता अनुसारका कार्यक्रम सन्चलन गर्न सुझाव दिनुभएको छ।
कार्यक्रममा बोल्दै भूमिकास्थान नगरप्रमुख झविलाल थापाले सबै नागरिक सचेत र अख्तियार प्रतिनिधिको रूपमा उभिन सकेमात्रै भ्रष्टाचारमा कमि आउने बताउनुभएको छ । नागरिकमा अनुशासनहिनता बढ्दा देश अफ्ट्यारोमा परेको उहाँको भनाइ छ । उजुरी लिदा नाम गोप्य राख्ने तर बेनामी उजुरी नलिन नगरप्रमुख थपाको अख्तियारलाई सुझाव छ ।
कार्यक्रममा उपप्रमुख बालकृष्ण बन्जाडेले मुलुकका ठुला माछा छोपेर कानुनको दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।
सबै विद्यालयको तर्फबाट शारदा मा.वि.ढिकुराका प्रधानध्यापक बिष्णु अधिकारीले मन्तव्य राख्दै अख्तियार सम्बन्धि सचेतना कार्यक्रम स्कुलमा पनि जोड्न आग!गर्नुभएको छ ।
अख्तियार बुटवलका कर्मचारी नारायण प्रसाद न्यौपानेको सन्चालनमा सम्पन्न कार्यक्रममा उप-सचीव इश्वर प्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो ।
अख्तियार बुटवलका उप-सचीव आचार्यको प्रतिवेदन अनुसार चालू आर्थिक बर्षको ८ महिनामा अर्घाखाँचीका ५३ वटा उजुरी परेका छन् । जसमध्ये १७ वटा उजुरीको फर्स्यौट हुन बाकी छन् । भने ३६ वटा उजुरीको फैसला भैसकेको छ । उपसचिव आचार्यका अनुसार अर्घाखाँचीको सन्धिखर्कका सबैभन्दा धेरै २१ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् भने सबैभन्दा कम छत्रदेवका २ वटा उजुरी परेका छन् । जिल्लाको शीतगङ्गा नगरपालिकाका १७ वटा, मालारानी गाउपालिकाका ५, भूमिकास्थान नगरपालिका र पणिनी गाउँपालिकाका ४/४ वटा उजुरी अख्तियारमा दर्ता भएको देखिएको छ ।