
गोपाल प्रसाद भट्टराई
चैत्र–१४,अर्घाखाँची। अर्घाखाँची जिल्लाबाट यस बर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी संख्या घटेको छ ।
यो वर्ष अर्घाखाँचीबाट २ हजार ९ सय ७२ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । गत वर्ष ३ हजार २ सय ७५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।
बसाइँसराइ र कम सन्तान जन्माउनु विद्यार्थी घट्नुको मुख्य कारण भएको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले बताउनुभएको छ ।
चैत्र १५ गते बाट सुरू हुने परीक्षामा अर्घाखाँचीबाट ७७ सामुदायीक र ६ संस्थागत गरी ८३ विद्यालयका २ हजार ९ सय ७२ परीक्षार्थी सहभागी हुँदैछन्। समन्वय प्रमुख पराजुलीका अनुसार १ हजार ३ सय ९७ छात्र र १ हजार ५ सय ७५ छात्राले एसईई परीक्षा दिँदैछन् । २७ छात्र र २७ छात्रा गरी ५४ जना विद्यार्थि ग्रेड वृद्धिका लागि परिक्षामा सहभागि हुँदैछन् । यस्तै प्राविधिक धार तर्फ १ सय ५ जना परीक्षार्थी सहभागी हुँदैछन् ।
अर्घाखाँचीमा जम्मा १७ वटा परीक्षा केन्द्र तोकिएको परीक्षाका लागि आवश्यक सबै तयारी पुरा भइसकेको समन्वय इकाई प्रमुख पराजुलीको भनाई छ ।
परीक्षा सञ्चालनका लागि १७ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष र १ सय ४८ जना निरीक्षक तोकिएको छ।
यस्तै सहायक कर्मचारीको रुपमा ३१ जना र ६० जना कार्यालय सहयोगी खटाइएको छ । परीक्षालाई शान्त र भयरहित वाताबरणमा सम्पन्न गराउन हरेक परीक्षा केन्द्रमा आवश्यकता अनुसार ४ देखी १० जना सम्म सुरक्षाकर्मी परिचालन गरिने छ ।