
-हर्क बहादुर लाओति( Papohang Laoti)
धनकुटाका अलैचीका पातहरुलाई सोध
ती अमर सहिदहरुको रगतको स्वाद र सुगन्धहरु
भरुवा बन्दुकको नालबाट निस्किएका गोलिहरुलाई सोध
सहिदहरुको छातीमा तातो-रातो ठोस बस्तुले पथ बनाएको अनुभबहरु
इलामको इभाङमा गएर अवलोकन गर
सहिद रत्न कुमार वान्तवाको रगतले रंगिएको भूमिहरु
इभाङका खोल्साखोल्सि अनि नदी नालाहरुलाई सोध
तिब्र गतिमा भागेर पनि तातो गोली लुकाएर तड्पी-तड्पी मर्नुको पिडाहरु
हेर न ती नाबालक कलिला बच्चाहरु
मनमा दया अनि प्रेम जागेर आउछ कि उसले पिता गुमाउछ
ती सहिदका पत्नीलाइ हेर नयन भरी आँसुको बाँध कसेर बसेकि
आँसुका बाँध फुटेर तिब्र गतिमा बगेर चिउडो सम्म पुगेका
आज सहिदका पत्नी बिल्कुल खाली छिन
हातमा चुरा फुटेका छन् सिउँदोमा सिन्दूर पुछिएको छ
कति सपना त कति इच्छा अनि आकांक्षा गोजिमा लुकाएर बस्नु परेको छ ।
ती बच्चाका दूधे ओठहरुलाई कस्ले सिकाउला संस्कारका कुराहरु
थाहा छ, समाजलाइ ति निर्दोश नाबालक बच्चालाइ संस्कारको अभाब छ।
आँखाभरी आँसु बोक्ने आमालाई त सोध
मध्य रातमा छोरा हराएको पाँच-दश मिनेट पछि बन्दुकको आवाज सुनिएको
भावनामा बगेर रुदै-रुदै सुनाउछिन् ,छोराका यादहरु
नालबाट निस्केर जान्छ गोलिहरु गरेर जान्छ क्रान्तिहरु
देशको बलिदान रगत दिने सहिदहरुलाई भनिन्छ , नओलाउने फूलहरु ।