सागर बेल्बासे
१. सरकारी तलव बुझ्ने हरेक व्यक्तिका सन्तानले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याओस्, बोर्डिङ पढाएपछी फरक र सम्पन्न देखिने भन्ने विकृत मानसिकता बढेकोले यो आवश्यक देखियो । यो मामलामा विद्यार्थीको ‘राइट टु च्वाइस’ भन्ने कुरा हुन्न, अनावश्यक हौवा फैलाइएको छ । अन्य पालिकाको हकमा यो आवश्यक नहुन पनि सक्छ ।
२. मेयरको इच्छा भएको बुझिएकाले योजनासहित ‘बूक फ्री फ्राइडे’ कार्यक्रमका लागि बजेट छुट्याओस् । आर्थिक भार कम पार्न स्रोत कम भएका विद्यालय प्राथमिकतामा पर्ने गरि योजना बनाउन सकिन्छ । यसमार्फत् स्थानीय सामाग्रीको उत्पादन गर्न, संगीत सिक्न, नृत्य, कलाकारीता लगायत अन्य सीप सिक्न सहयोग पुग्ने योजना बन्नुपर्छ ।
३. एक हप्ता – एक विद्यालय- मेयर कार्यक्रम सञ्चालन गर्ने र हप्ताको कुनै एक दिन वा बुक फ्री फ्राइडेकै दिन मेयर कुनै एक विद्यालयमा कम्तिमा १० मिनेटका लागि उपस्थित हुने, त्यहाँका शिक्षक, अभिभावक र विद्यार्थीका गुनासा, समस्या सुन्ने गर्नुपर्छ । जसले गर्दा शिक्षाका समस्या प्रत्यक्ष बुझ्न सहज हुन्छ ।
४. पालिकाले शिक्षकको बिज्ञापनका लागि पहिल्यै परीक्षा गराएर करार लिस्ट बनाउने र विभिन्न विद्यालयमा बेलाबेलामा हुने विभिन्न रिक्त अस्थायी शिक्षक पदपूर्तिका लागि पालिकाले आफ्नो करार लिस्ट अनुसार शिक्षक पदपुर्ती गर्ने, यसो गर्नाले कुनै विद्यालय लामो समयसम्म शिक्षकबिहिन हुनु पर्दैन र अनावश्यक खर्च पनि कम हुन्छ ।
५. विद्यालयमा खानेपानी, शौचालय, तारजालीजस्ता अति आवश्यकतालाई प्राथमिकतामा समेट्नुपर्छ । पालिकाका केही विद्यालयहरूमा सफा पानी र शौचालयको अभाव छ ।
६. स्थानिय विषयमार्फत् स्थानीय संस्कृति र भुगोलको संरक्षण, स्थानीय उत्पादन र सामाग्रीको प्रवर्द्धन तथा आगामी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य सहितको पाठ्यसामग्री तयार गर्ने ।
७. केटाकेटीलाई कक्षाकोठामा बन्द गरेर मात्र पढाउनुपर्छ, अन्य सिकाइ सिकाइ नै होइन भन्ने अभिभावकको बुझाइलाई चिर्न अभिभावक शिक्षाको आवश्यकता छ । यसै अभियानमार्फत आम युवामाझ अत्यन्तै कहालीलाग्दो अवस्थामा रहेको लागुपदार्थ दुर्ब्यसनीका विरुद्ध अभियान सञ्चालन गर्न, भुमिकास्थान बर्सेनि कैयौं धनजनको क्षति गरेर मुख्य समस्याको रूपमा रहेको आगोलागी प्रकोप जस्ता समस्याका विरुद्ध अभियान सञ्चालन गर्न सकिन्छ । त्यसका लागि शिक्षकसङ्ग नै सहजीकरण गर्न सकिन्छ ।
८. विषयगत शिक्षकको क्षमता अभिवृद्धिका लागि राम्रा प्रशिक्षकबाट समयसमयमा तालिमको व्यवस्था गर्ने र त्यहाँ कस्ता कुरालाई कसरी पढाउंदा प्रभावकारी हुन्छ भन्ने कुराको आइडिया दिने ।
९. युवालाई देशमै टिकाउन मोटिभेसन कार्यक्रमसङ्गै उद्यमशील कार्यक्रमहरूको आयोजना गर्ने ।
१०. पठन संस्कृति वृद्धि गर्न पालिका स्तरीय लाइब्रेरीको व्यवस्था गर्ने, विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना र बहसलाई प्रोत्साहन गर्ने ।