टेकराज भुसाल,
बुटवल । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले संचालन गर्ने ४ दिने नमुना युवा प्रदेश सभा-२०८१ सुरु भएको छ।
शनिवार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले साे कार्यक्रमको उद्घाटन गर्नुभएको हो।
युवा परिषदले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि वार्षिक रुपमा नमुना युवा प्रदेश सभा सञ्चालन गर्ने गरेको छ । युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँ सभाको अभ्यास गराइन्छ । नगर/गाउँबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराइने प्रदेश युवा परिषद्का उपाध्यक्ष गाेविन्दबहादुर बस्नेतले बताउनुभयो।
उपाध्यक्ष बस्नेतले नमुना युवा प्रदेश सभा अभ्यास गरिसकेपछि त्यहाँबाट छनौट भएकालाई तेस्रो चरणमा संघीय तहमा सहभागी समेत गराइने बताउनुभयो।
प्रदेशका १२ वटा जिल्लाका पालिकामा नमुना युवा गाउँ/नगर सभा संचालन भएपछि पालिकाबाट सिफारिस भई आएका ४३ जना सहभागीतामा प्रदेश युवा संसद शुरु भएको छ। चारदिन चल्ने अभ्यासका क्रममा १६–२४ वर्षका युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्रमा सामाजिक विकास मन्त्रालयका सचिव बिनाेदकुमार खड्का, नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक इन्द्रजित थारु, प्रकाश उपाध्याय, डम्बर खराल, सराेज खनाल लगायतले साशकिय स्वरुप र राज्य संचालनकाे प्रक्रिया, प्रदेश सभामा कानुन निर्माणकाे प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका विच अन्तर सम्बन्ध लगायतका विषयमा बहस तथा छलफल गर्ने कार्यकारी सदस्य सराेज खनालले बताउनुभयो।
लुम्बिनी प्रदेश युवा परिषद्का उपाध्यक्ष गाेविन्दबहादुर बस्नेतकाे अध्यक्षता, कार्यकारी सदस्य सराेज खनालको संचालन र डम्बर खरालकाे स्वागत मन्त्वयमा सम्पन्न उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालयका सचिव बिनाेद कुमार खड्का, मन्त्रालयका उपसचिव थानेस्वर ज्ञवाली, दिवकार भण्डारी लगायतको उपस्थिति रहेको थियो।