
संयोगले उ र म एउटै गाउँका
एउटै उमेरका
एउटै कक्षाका
सानोमा सङ्गै खेलेका साथी हामी
संयोगले उ अर्कै पार्टीको
म अर्कै पार्टीको !
मलाई उसको पार्टी मन नपर्ने
उसलाई मेरो पार्टी
उसको पार्टी सत्तामा हुँदा
मैले बिरोध गर्ने,
मेरो सत्तामा हुँदा, उसले !
नेताको आदेश पालना गरेकै हो,
हातमा ढुङ्गा लिएर लडेकै हो
रेलिङ भत्काउन पर्खाल चढेकै हो
हातमा माला र अविर लिएर
नेतालाई स्वागत गर्न,
बसपार्क र बिमानस्थल दगुरेकै हो !
सत्ता, शक्ति र देश,
सङ्गठन, कार्यकर्ता र मत
सबै हाम्रा हुन् जस्तो लागेको थ्यो
सधै हाम्रा हुन् जस्तो लागेको थ्यो ।
मुल्यांकन हुन्छ भनेका हुन्थे,
ठूलै पद पाउने आशा जागेको थ्यो ।
सङ्गठन बनाउन सबै कक्षामा छिर्दा
संयोग पनि कस्तो पर्यो भने
आफ्नै कक्षामा बस्न भुलिएछ,
भुलिएछ शिक्षक, क्याम्पस भुलिएछ
साथी भुलिएछ, छिमेकी भुलिएछ
क्षमता भुलिएछ, योग्यता भुलिएछ
बिचार भुलिएछ, दर्शन भुलिएछ
सिद्धान्त र संस्कृती भुलिएछ !
आखिर संयोगहरूको योग नै त जीवन भन्छन्,
यस्तै संयोगै संयोगका बीचमा
भुलेका हामी, हराएका हामी
संयोगले भेटिएका छौँ
हाम्रा नेताले मिलाइदिएको
फ्री भिजा र फ्री टिकटको जहाज कुर्दै
संयोगले -त्रिभुवन विश्वविद्यालयबाट टाढिएका हामी
————त्रिभुवन बिमानस्थलमा भेटिएका छौँ ।