
विमल पोखरेल
निनु चापागाइँले केही दिन अगाडिको एउटा अनलाइन कार्यक्रममा महिलाहरुले तीजमा नभएर ८ मार्चमा दर खानुपर्ने बताए । तीज र ८ मार्चको महत्व नै फरक छ । तीज पौराणिक कथामा आधारित धार्मिक र सांस्कृतिक मान्यता भएको महिलाहरुको चाड हो भने ८ मार्च सामाजिक, राजनीतिक संघर्षको बीचबाट स्थापित भएको ऐतिहासिक दिन हो ।
तीजलाई धर्मबाट अलग गराउने हो भने यो सांस्कृतिक पर्व बन्छ र यसले प्रगतिशील स्वरुप ग्रहण गर्छ । तीजको महत्वपूर्ण पाटो ब्रत बस्नु, लोग्नेको खुट्टाको पानी खानु, पूजा गर्नु होइन । सयौं महिला एकै ठाउँ उपस्थित भएर नाचगान गर्नु नै महत्वपूर्ण पाटो हो । यदि सबै दिदीबहिनी नाचगान गर्न नपाउने हो भने ब्रत बस्नको लागि माइत कोही पनि जाँदैन । नाचगानलाई प्रतिबन्ध लगाउने हो भने कुन चाहिं दिदीबहिनी माइत जान्छन् ? अहिले नै हेरौं, न कोरोनाले नाचगानमाथि प्रतिबन्ध लगाइदियो, अब अधिकांश महिलाहरु माइत जाँदैनन् । तीजको महत्वपूर्ण पाटो भनेकै विवाह भएका, नभएका सबै दिदीबहिनी एकै ठाउँ जम्मा हुने, रमाइलो र नाचगान गर्ने हो ।
मान्छेलाई मनोरञ्जन चाहिन्छ । तीज मनोरञ्जनको उत्कृष्ट माध्यम हो । तीजले महिला, पुरुष सबैलाई पारिवारिक, सामाजिक र सांस्कृतिक मनोरञ्जन दिन्छ । तीजमा गीतहरु गाइन्छ, नाचिन्छ । जहाँसम्म कस्ता गीत गाउने भन्ने त गाउँशरमा सचेत महिलाहरु छन् भने प्रगतिशील गीत गाउँछन्, छैनन् भने परम्परागत गीत गाउँछन् । केही वर्ष पहिलेसम्म महिला संगठनहरुले प्रगतिशील गीती संग्रह प्रकाशन गर्थे, गाउँगाउँमा पठाउँथे । तिनै गीतहरु गाइन्थे । अहिले लेख्न छोडे, छाप्न छोडे, पठाउन छोडे, फेरि परम्परागत गीत गाइन थाले । त्यसैले तीजलाई प्रगतिशील स्वरुप दिनको लागि हामी नै चुक्दै गएका हौं ।
जहाँसम्म गहनाको कुरा हो, यो त दक्षिण एसियाको भद्दा र कुरुप पक्ष हो । श्रीमानलाई पिरोलेर लाखौंका गहना लगाउने कार्यले पुरुष हिंसा भएको छ । तर खाडीमा गएका पुरुषहरु लाखौंलाखका गहना किन्न बाध्य छन् । हरेक दिन फोन र भिडियोमा मैले यो लगाउने हो, त्यो लगाउने हो, उ लगाउने हो भनेपछि पुरुषहरु बाध्य हुन्छन् र लाखौंका गहना किन्छन् ।
नेपाली समाजमा गहनाको सन्दर्भमा श्रम र पैसाको सत्यानास भएको छ । त्यसले महिलाहरुलाई भ्रष्टीकरण गराएको छ । गहना औचित्यहीन र सन्दर्भहीन वस्तु हो । त्यसको न हिजो काम थियो, न आज काम छ, न भोली नै काम हुनेछ । गहनामार्फत् महिलाहरुको खरिदविक्री भएको छ । गहना प्रदर्शन कुनै सुन्दर पक्ष होइन, त्यो अत्यन्तै भद्दा र कुरुप पक्ष हो ।
निनु चापागाइँले भनेजस्तै ८ मार्चलाई दर खाने पर्व नबनाऔं । त्यसलाई राजनीतिक अधिकारको दिनकै रुपमा मनाऔं । तीजलाई पारिवारिक र सामाजिक पर्वको रुप दिंदै जाऔं । देशभक्तिका गीत गाउन लगाऔं, अधिकारका गीत गाउन लगाऔं, विकृति र विसंगति विरुद्धका गीत गाउन लगाऔं । महिला, पुरुष दुवैलाई नाच्न दिऔं, रमाइलो गर्न दिऔं । तर अन्धविश्वासका तख्ताहरुलाई एक एक गरेर झिक्दै जाऔं । तर ८ मार्चमा दर खान नथालौं । त्यसले फेरि ८ मार्चको भ्रष्टीकरण गर्छ ।
(तीन वर्ष अगाडिको जिरोमिटर स्तम्भ पुनः पोस्ट गरिएको हो)