![](https://supadeuralionline.com/wp-content/uploads/2024/12/inbound924510493592383091.jpg)
बुटवल । बुटवलको सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा नमुना अदालत अभ्यास कार्यक्रम सम्पन्न भएको छ। कक्षा ८ का विद्यार्थीहरूको सहभागितामा मंगलबार आयोजित कार्यक्रममा अभियुक्त, वादी, प्रतिवादी, पक्ष-विपक्षलगायतका कानुनी प्रक्रियामा आधारित चर्को बहस गरिएको थियो।
विद्यार्थीहरूले गाली बेइज्जती, अपमानजनक व्यवहार, चरित्र हत्या, बालअधिकार, र लैङ्गिक हिंसा जस्ता विषयमा पक्ष र विपक्षमा तर्क-वितर्क प्रस्तुत गर्दै अदालतको वास्तविक कार्यशैलीलाई दुरुस्त उतारेका थिए। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित यो बहसमा विद्यालय तहमा हुने लैङ्गिक हिंसाका घटनाहरू, कानुनी उपचारका उपायहरू, र दण्ड सजायका विषयमा समेत विद्यार्थी वकिलहरूले निर्णय सुनाएका थिए।
४५ जना विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यक्रममा बालअधिकारका मुद्दाहरूलाई विशेष प्राथमिकता दिइएको थियो। साथै, सामाजिक सञ्जालको दुरुपयोग र त्यसले पार्ने असरबारे पनि व्यापक बहस गरिएको थियो। विद्यालयका प्राचार्य दिनेश भुसालले यस अभ्यासले विद्यार्थीहरूको वाककला र कानुनी ज्ञानमा सुधार आएको जानकारी दिनुभयो। उहाँले अक्सफोर्डमा नमुना अदालत, नमुना सांसद, नमुना यूएन कार्यक्रम, र नमुना युवा मेयर कार्यक्रमजस्ता व्यावहारिक शिक्षाका अभ्यासहरू सञ्चालन गरिंदै आएको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्यालले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित यो बहसले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थपेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीको बहुआयामिक विकासमा टेवा पुर्याउने उल्लेख गर्नुभयो।
विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले कानुनको ज्ञान बाल्यावस्थादेखि नै हुनुपर्नेमा जोड दिँदै, विद्यार्थीहरूको सहभागितामा भएको यो अभ्यास कार्यक्रमले कानुनी चेतना बढाउने अवसर दिएको बताउनुभयो।
कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। सहभागीहरूमा प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेत, क्याम्पस सञ्चालक समितिका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, र कार्यक्रम संयोजक हिमलाल न्यौपानेलगायत उपस्थित हुनुहुन्थ्यो। सबैले नमुना अदालत अभ्यासले विद्यार्थीहरूको वाककला र नेतृत्व क्षमताको विकास गरेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालले गर्नुभएको थियो। कक्षा ८ का विद्यार्थी टेरीसा भण्डारी र प्रीष्टिना खनालले न्यायाधीशको भूमिका निर्वाह गर्नुभएको थियो। स्नेहा बोहोरा, सिमुन थापा, खुशी सिंह, अनुष्का पौडेल, अनुसा भण्डारी, र रिचा पाण्डेले थुनछेक र सरकारी वकिलको भूमिका निर्वाह गर्नुभएको थियो।