“परीक्षामा असफल हुँदैमा हारेको मानसिकता बनाउनु हुँदैन”

✍️तिलक राम बन्जाडे

“परीक्षामा असफल हुँदैमा हारेको मानसिकता बनाउनु हुँदैन”

बोल्नु पर्छ । केही लेख्नै पर्छ भन्ने लाग्यो ।

एकाएक दुःखद खबर पढ्नमा आयो । खोटाङको दिक्तेल हुँदै महाराजगञ्जको प्रहरी वृत्तबाट ।

मिलनको खबर ।

के थियो खबरको भयानकता ? धेरैले अनलाइन मिडिया पढिसक्नु भयो होला । मैले पनि पढेँ र लामो स्वास फोक्सोमा पुर्याउँदै सुस्तरी छोड्दिएँ ।

लोक सेवा आयोगका परीक्षाहरुमा पटक पटक प्रयास गर्दा फेल भएपछि बाबु र भाइको हत्या गर्ने व्यक्ति। (बयान अनुसार) ६-७ पटकको प्रतिस्पर्धी, त्यसको नतिजा र परिवारको व्यवहारबाट उत्तिकै विक्षिप्तता महशुस गरेका एकजना व्यक्ति मिलनको व्यवहारले ल्याएको त्रास।

 

किन हामीले लगातारको असफलता सहन सक्दैनौं ?

१, २ पटकका प्रयासहरु सिक्दैमा जान्छ । यो मेरो भरखरको शुरुवात हो भन्ने आभाष हुँदा कम अपेक्षा हुन्छ । दिमागले त्यती वास्ता पनि गर्दैन ।

घर परिवारले पनि त्यती अपेक्षा गर्दनन्।

शुरुवाती हारको । असफलताको ।

शुरुवातका दरखास्तहरुको लगानी, खर्च र त्याग,

शुरुवातका अनिदा रातसाँझहरुको खटन, शुरुवाती रटन,

शुरुका यात्राहरु,

शुरु किताबका पानाहरुको केरकार र संकेत,

यावत कुराहरुको शुरुवात र नतिजाको विभेदले त्यती पोल्दैन । पिरोल्दैन ।

तर शुरुवात कतिसम्मको हुने । कति समयको लागि शुरुवात भन्ने । के २ पटकसम्मको असफलता सफलताको प्रतिक हो त ? कि ३ पटकसम्मलाई सफल हुने आशा राख्ने ?

ल भएन, २।३ लाई छोडौं पाँचौ पटकको प्रयासलाई पनि सफलताको प्रतित मान्न त सकिएला । मन बुझ्ला । बुँझाउँला । अब हार, पराजय तथा असफलताको संख्याले सीमा नाघ्नै लाग्यो । मानौ कोही सात पटकसम्म पनि प्रयास गर्दा असफल नै रह्यो ।

असफल हुनु माथि भनिएजती लगानी, समय, दुरी र वस्तुहरुको व्यर्थता मात्र होइन । त्यहाँ योजना, सपना, खुशी, र प्रण जोडिएको हुन्छ । स्थायीत्व, शान्तवना र समृद्दि गाँसीएको हुन्छ ।

कसैका सपनाहरु विलिन भएमा,

कसैका योजनाहरु अपूर्ण रहेमा,

कसैका अनुहारका खुशी प्रकट गर्ने बाहाना नभएमा, त्यसको असर छरपष्ट हुन्छ ।

एकाएक हारिएको महशुस हुन्छ । छुटेको महसुस हुन्छ । साथसाथै पछाडी परेको महशुस हुन्छ ।

महशुस मुटुसँग जोडिएको हुन्छ । मुटुलाई पनि त मस्तिष्कको नियन्त्रण रहन्छ । होइन र ?

के मस्तिष्क सधै स्वस्थ रहला त?

यसरी हारेको, यसरी असफल भएको मस्तिष्कको स्वास्थ्यमा के असर पर्ला ? कसैले अनुभव गर्नु भएको छ ? कसैले भोग्नु भएको छ ? हो, धेरैले भोग्नु भएको छ, त्यस्तै समान प्रकृतिको अवस्थाको नजिक पुगेर पुनर्उत्थान पाउनु भएको छ भन्ने बुझाइ पंक्तिकारमा छ।

पंक्तिकार आफै पनि यी कुराहरुको भुक्त भोगी हो ।

उसले पनि भोगेको छ । कसैले भोगेको देखेको छ ।

 

यहाँ आज लेख्न खोजेको “मिलन” पात्रको बाध्यता र विक्षिप्तता हो ।

उसले हारलाई स्वीकार्न सकेन । उसले आफूलाई बाहेक कसैलाई पनि स्वीकार्न सकेन ।

केही बन्ने इच्छा राख्नु व्यक्तिका लागि दबाबको विजारोपण हो । काम गर्ने बाध्यता हो ।

 

यहाँ हजारौँ लाखौं कुलप्रसादहरुले छोराको सफलता चाहान्छन्। लाखौं भाइहरुले दाइको चर्चा चाहान्छन् ।

बाबुले छोराको भलो नसोँचे कस्को सोच्ने ? अझै भनौ बाबुआमाले छोराबाट आशा नराखे कोबाट राख्ने ?

परिवारमा खुशी नचाहने कोही होला त मानिस ? पक्कै छैन् ।

 

तीनै आशा, भरोसा र सपनाहरु भेटाउन आज लाखौं युवाहरु रोजगारको खोजीमा भौतारिनु परेको छ ।कोही मरुभुमीमा भौतारिएका छन् त भने कोही स्वदेशमा ।

यहाँ स्वदेशको संघर्ष लेख्न खोजिएको छ ।

आज, शहरका हरेक घरमा विद्यार्थी छन् । प्रत्येक घरमा परीक्षार्थी छन् ।र, प्रतिस्पर्धी पनि ।

अनेकौ रोजगारी मध्येको एउटा गन्तव्य हो “सेवा आयोग” को नतिजामा नाम ल्याउने । यही दौडमा लाखौँ परीक्षार्थीहरुले भाग लिने गरेका छन्।

हामी सबै एकनाश छैनौ । सबैको बौद्धिकता समान छैन ।पारिवारीक, आर्थिक, सामाजिक, र तयारी वातावरणमा पनि समानता छैन् ।

कसैलाई छिटो पुग्नु छ त कसैलाई बिस्तारै पुग्नु छ । जे होस् चाहेको चरणसम्म पुग्नु छ ।

पुग्नका लागि गरिने एउटा व्यक्तिको प्रयासलाई पर्याप्त नै हो भन्न सक्ने कुनै प्रमाण छैन् ।

अग्रजले सघाउँछन् । जुनियरले सिकाउँछन् । सिनियरले डोहोर्याउँछन् । परिवारले अर्ति दिन्छन् ।

त्यत्तिकै, समाजले होच्याउँछ । परिवारले चुनौति पनि दिन्छ । अभिभावकको महत्वकांक्षी दबाब पनि त नआउने भन्ने हुँदैन ।

के छिमेकको सफलता जस्तै सफलता आफ्नै घरमा पनि भित्राउने रहर हुदैन र ?

बाबुले भर मान्नु हुन्छ ।

आमाले सपना बुन्नु हुन्छ ।

भाइले आधार खोजेको हुन्छ ।

समाजले असल नागरिक खोजेको हुन्छ ।

यी भूमिकाहरु निर्वाह गर्ने अब्बल व्यक्ति बन्न र बनाउन विभिन्न पहाडहरुले बाटो छेक्छन् । विभिन्न अर्ति उपदेश, अवहेलना, क्रोध, ईर्ष्या, र अस्वस्थ प्रतिस्पर्धाको सामना गर्दै गर्दै एउटा परीक्षार्थीले आफ्नो लय समाउने कोशिस गरेको हुन्छ ।

तीनै कोशिसहरुले उमंग ल्याउन नसक्दा एउटा व्यक्तिको मानसिकता खस्किन्छ । हारको कगारमा उभिएर निर्णय लिन पुग्दछ ।दुर्भाग्यवशः मिलनजस्तै व्यवहार प्रकट गर्दछ । समाजलाई तर्साउँछ ।

पढ्नु के हो ? कसरी पढ्ने र पढ्नेले के चाहान्छन् ?

पढ्न सजिलो छ । तर बुझ्न त्यति सजिलो छैन् । स्मरण सम्झिनु मात्र होइन । अर्थपूर्ण तरिकाले सम्झिनु र त्यसलाई आवश्यक परेको बेला प्रयोगमा ल्याउन सक्नु पढ्नु हो । हामी बुझ्नलाई मात्र पढीरहेका छैनौं । “पढेर ठूलो मान्छे बन्नू” भनेर दिने आशिर्वादले त्यतिबेला सार्थकता पाउँछ जतिबेला पात्रले पढ्छ र केही बन्छ ।

पढाईका लागि समयको खर्च हुन्छ । उत्तिकै शक्ति र सामर्थ्य पनि । डटेर पढ्नु, सिक्नु सामान्य कुरा होइन । विषयवस्तुहरुको चाङलाई एकएक गर्दै पल्ट्याउँदै हरेकलाई दिमागमा बुझ्ने गरेर सजाउनु सामान्य होइन ।परीक्षार्थीले तोकिएका विषयवस्तुको एकोहोरो रटन लगाएर मात्र हुँदैन। हरेक विषयवस्तु कहिँकतै अन्तरसम्बन्धित छन् । एकले अर्कोलाई सघाएका छन् वा कसैको प्रभाव कसैमाथि कुनै न कुनै मात्रामा रहेकै हुन्छ । यो सबै पढ्नेहरुले बुझेको हुन्छन् ।

पढ्ने थाक्छ । भोकाउँछ र निदाउँछ पनि । पढ्नेले पढेकै सपना देख्छ ।केही बन्ने सपना देख्छ ।

एकोहोरो पढिरहनु, जतिबेलासुकै पढिरहनुले पढाइको अर्थ पूर्णरुपमा नराख्न पनि सक्छ । कम समय पढेर पनि ज्यादा बुझाइ गर्न सकिन्छ । त्यो पढाइको शैली, तरिका, र वातावरणमा भर पर्छ ।

पढ्नेलाई किताबको माया हुन्छ ।लेख्दै पढ्नेलाई कलमको मसि सकिएपनि साथमै राख्न मन लाग्छ ।रित्ता भएपनि कलमहरु सजाएर मेरो मिहिनेत हो भनि देखाउन मन लाग्दोरहेछ ।

पढ्दा पढ्दै निदाउनु पढेर थाक्नु होइन ।त्यसमा पढाइको आन्नदता पनि हुन्छ ।

केही समय पढेर निदाउनु र निद्राबाट उठेर पढ्नुमा पनि छुट्टै मजा छ । छुट्टै आन्नद छ ।

विश्राम गर्दै पढेको पढाइ दिगो हुन्छ । या भनौ पढाइको दिगो पनका लागि अनेक उपायहरु छन् । मात्र ती उपायहरुको अवलम्बनमा भर पर्दछ ।

पढ्नेले कसैको दबाब चाहदैन् । कसैको हतारलाई पुरा गर्न सक्दैन् । पढ्नेलाई आफ्नो गति थाहा हुन्छ । एकैपटक सबै विषयवस्तुको विज्ञता हासिल गर्न कहाँ सकिन्छ र ?

सँगै पढेको, सँगै खेलेको, सँगसँगै संघर्ष गरेको साथीसँग लक्ष्यमा सँगसँगै पुग्न सकिदैन ।

यो सर्वस्वीकार्य हुनुपर्दछ ।

यहाँ अवसर सिमित छन् । प्रतिस्पर्धी धेरै छन् । आवश्यकता असिमित छन् तर स्रोत अभाव छ ।

यीनै कुराहरुलाई मनमा राखेर आफूलाई प्रतिस्पर्धाको कसीमा उभ्याउन सक्नु र निरन्तरतालाई निरन्तरता दिनु नै उचित हुन्छ।

पढाइ वातावरण निर्माणमा परिवारको भूमिकाः

घर परिवारले आफ्ना सन्तानलाई पढ्ने वातावरण बनाइदिनु पर्दछ । जसरी माथि पढ्नु भनेको सहज होइन भन्ने कुराको चर्चा गरियो त्यसै अनुसार केही बन्न र बनाउनका लागि अथक प्रयास गर्नु नै पर्दछ । तपाईंको छोरा वा छोरीको सफलता तपाईंको हौसला, र प्रेरणामा पनि निर्भर हुने हुन्छ ।

सन्तानलाई दबाब नदिनुहोस् । परिवारको झैझगडा र तनावलाई व्यवस्थापन गरिदिनुहोस् ।

पारिवारिक मनमुटाव र हिंसाजन्य गतिविधिहरु हुन नदिनुहोस् ।कुलतका अभ्यासहरु सिको गर्ने अभ्यासहरु हुन् जसले परिवारमा शान्ति ल्याउँदैन् ।मिलेर बस्नुहोस् । खुशी बाँड्नुहोस् ।

जस्तो वातावरण दिनुहुन्छ त्यस्तै हुर्कन्छ विरुवा पनि । प्रेम गर्नुहोस् । जिम्मेवारी बुझाउनुहोस् ना की टर्चर र हिनताबोधको सिकार बनोस् ।

अध्ययनशील मित्रहरुमा अनुरोधः

हे पढ्ने मित्रहरु,

सफल उम्मेदवार बन्न चाह्ने मित्रहरु,

लगातारको संघर्षले तपाईंलाई एकै समयमा धेरै सफलताले पछ्याउने छन् ।

धेरै अवसरहरुले बाटो देखाउने छन् ।

जीवन संघर्ष हो । केही नबनुन्जेल कसैले देख्दैन् । कसैले मान्दैन । सबैले मान्ने हुनका लागि केही बन्नु पर्दो रहेछ ।

बन्नका लागि अर्काले सबै गर्दिने पनि होइन ।

इच्छाशक्ति र लगाव दृढ बनाएर अगाडि बढ्नुहोस् ।

 

यहाँ मिलन जस्तो बन्नलाई आफूलाई नधकेल्नुहोस् ।

त्यसले मस्तिष्क, जन, धन र आत्माको नाश गर्छ ।

डिप्रेशन निम्त्याउँछ ।

परिवारको नाश गर्छ ।

आशा र भरोसाहरुलाई जलाउँछ ।

यो न्याय होइन र कुनै मुक्ति पनि होइन ।

हामीले, असफलताबाट सिक्नु पर्छ ।

रात किन्नलाई सपना बेच्नु पर्छ ।

निरन्तरतालाई विश्वास गर्नु पर्दछ ।

मिहिनेत सहित आशावादी बन्नु जरुरी छ ।

कर्मलाई नछोड्ने व्यक्तिको सिकाइ पनि सफलता हो ।

अनुभव पनि एक किसिमको सफलता हो ।

हुन्छु, बन्छु भनेर अगाडि बढ्नेले अवश्य गन्तव्य भेटाउँछ ।

असफल मानसिकताले सफल हुन दिदैन ।

तपाईं, हामी सबै हारेको मिलन होइन जितेको मिलन बन्नुपर्छ।

“दिक्तेलका मिलनको परिवारमा भावपूर्ण श्रद्धाञ्जली”

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार