शैक्षिक नतिजा सुधारको प्रयासः भूमिकास्थानले ६५ जना शिक्षकका लागि बिशेष तालिम दिंदै

गोपाल प्रसाद भट्टराई,
माघ–०९,अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सामुदायिक विद्यालयका ६५ जना शिक्षकका लागि बिशेष तालिम सुरु गरेको छ ।

सिकाई आपुरण तथा दु्रत सिकाई योजना कार्यान्वयनको निम्ती सहजीकरणका लागि भूमिकास्थान नगरपालिकाले यस्तो तालिम दिन थालेको हो।

तालिममा कक्षा ३ देखि ८ कक्षा सम्मका ६५ जना बिषयगत शिक्षकहरुको सहभागिता रहेको छ । एउटा समूहमा ३३ र अर्को समुहमा ३२ जना गरि ६५ जना शिक्षकलाई दुई÷दुई दिनको तालिम दिइने भूमिकास्थानका शिक्षा शाखा प्रमुख तुवलाल सापकोटाले जानकारी दिनुभएको छ ।

नगर उप–प्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली लगायतको बिशेष उपस्थितिमा तालिमको सुरुवात गरिएको शिक्षा शाखाका प्राविधिक सहायक नविन खड्काले बताउनुभएको छ ।

तालिमको समुद्घाटन नगरप्रमुख झविलाल थापाले गर्नुभएको हो । तालिमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षकहरु वहुआयामिक हुनुपर्नेमा जोड दिनुभएको छ। “बालबालिकाले के चाहेका छन् ? उनीहरुको सिक्ने क्षमता र विधि कुन हो ? पहिचान गर्ने र रुचि अनुसारको बाटोमा लाग्ने वातावरण बनाइदिनुपर्छ ।” नगरप्रमुख थापाले भन्नुभयो,“ शिक्षकलाई दिएको तालिमको नतिजा हामीले विद्यार्थीहरुको प्रगतिमा मापन गर्नेछौँ ।”उहाँले अगाडि थप्नुभयो, “यसकारण तालिम अवधिमा शिक्षक भएर होइन, विद्यार्थी भएर सहभागी हुनुहोला।”
तालिममा कक्षा ३,४ र ५ को नेपाली र गणित तथा कक्षा ६,७ र ८ को नेपाली, गणित, अंग्रेजी र विज्ञान बिषयको सिकाईको स्तरवृद्धि केन्द्रित तालिम प्रदान गरिने भूमिकास्थान नगरपालिकाले जनाएको छ।

तालिम पश्चात परिक्षा गराएर तालिम दिइएका बिषयमा ७० प्रतिशत भन्दा कम अंक ल्याउने विद्यालयका विद्यार्थिलाई थप कक्षा व्यवस्थापन गरि सिकाइ योजना बनाइने नगर शिक्षा शाखा प्रमुख तुवलाल सापकोटाको भनाई छ।

पहिलो ३३ जना शिक्षकको दुई दिने तालिम मंगलबार सकिएको छ भने बुधबारबाट सुरु भएको दोस्रो समुहमा सहभागी ३२ जना शिक्षकको तालिम बिहिबार सकिने छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार