
टेकराज भुसाल,
अर्घाखाँची । साल्ट टेडिङ्ग कर्पाेरेसनले आयोडिनयुक्त नुनको थप प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रमकाे आयोजना गरी देशव्यापी रुपमा आयोडिन मन्थ मनाउन थालेको छ।
साेहि अवसरमा साेमबार साल्ट टेडिङ्गकाे आयोजना तथा सन्धिखर्क नगरपालिकाकाे समन्वयमा अर्घाखाँचीकाे सन्धिखर्कमा आयोडिन सचेतना तथा रासायनिक मल अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमकाे सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो।
उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले रासायनिक मलमा राज्यले धेरै अनुदान दिएर मूल्य कम गर्दिएका कारण किसानले जथाभावी रुपमा रासायनिक मलकाे प्रयाेग गरेको भन्दै रासायनिक मलमा दिएको अनुदान कटौती गरि कृषकले उत्पादन गरेको वस्तुमा अनुदान दिनुपर्नेमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो।
व्यापक रासायनिक मलको प्रयोगसँगै हाइब्रिड खेती गर्नाले मूल बीउ हराएको चिन्ता व्यक्त गर्दै नगरप्रमुख श्रेष्ठले हाइब्रिड बीउ राेक्नुपर्ने र रासायनिक मलको व्यापक प्रयोग र हाइब्रिड बीउले पार्न असरबारे प्रत्येक कृषकलाई सचेत गराउनुपर्नेमा जाेड दिनुभएको थियो।
साल्ट टेडिङ्ग कर्पोरेसनका विभागीय प्रमुख कृष्ण कुमार शाक्यले विशेषगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित सम्बन्धित निकायका सहकार्यमा आयोडिनको कमीले हुने समस्यालाई निवारण गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयाे।
विभागीय प्रमुख शाक्यले नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश भएको नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाइँदै आइएको र यस वर्ष `थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने नारा रहेको समेत जानकारी दिनुभएको छ।
त्यसैगरी कृषि बिकास मन्त्रालयका पूर्व सहसचिव भगवान खतिवडाले रासायनिक मलको प्रयोग, प्रयोग गर्ने विधि, मात्रा लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रम सन्धिखर्क नगरपालिका स्वास्थ शाखा प्रमुख पूर्णप्रसाद पराजुलीकाे अध्यक्षता, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईकाे संचालन, साल्ट टेडिङ्ग कर्पोरेसन लुम्बिनीका प्रबन्धक देवराज भट्टराईकाे स्वागत मन्त्वयमा सम्पन्न कार्यक्रममा जिल्ला ६ वटै पालिकाका कृषि शाखा प्रमुख, रासायनिक मल विक्रेता सहकारीका संचालक तथा व्यवस्थापकहरुकाे उपस्थिति रहेको थियो।