राजा चाहिन्छ भन्ने कुरा मुर्खतापूर्ण मात्र होइन वाहियात हो, इतिहासको अपमान हो

सागर बेल्बासे

तपाईंले दु:ख गरेर पढ्नुहुन्छ, मिहिनेत गर्नुहुन्छ । तर तपाईंले जब क्याम्पसको प्राध्यापक बन्न, लेक्चर बन्न वा जागिर खानकै लागि कुनै दलको सदस्यता लिनुपर्छ भन्ने थाहा पाउनुहुन्छ तब तपाईंलाई नेपालका दलहरूप्रती रिस उठ्छ, यो व्यवस्थाप्रति रिस उठ्छ । तपाईंलाई थाहा छ र थाहा हुनुपर्छ कि क्याम्पसका लगभग हरेक (अपवाद बाहेक) प्राध्यापकहरू कुनै अमुक दलको कार्यकर्ता हुन् । यसरी क्याम्पसहरू पनि ठूला दलका कार्यकर्ता भर्ती केन्द्र बनेका छन् । अन्य क्षेत्र त लगभग बाकी छैनन् नै, दुखको कुरा के हो भने बौद्धिक भनिने क्षेत्रमै पनि दलहरूले अड्डा जमाएका छन् । बाहिर खुव आदर्शको कुरा गर्ने भित्रभित्र सत्ताको चाकरी गर्ने आजको नेपाली समाजको आम चरित्र जस्तै भएको छ । आजको युवाले देशमा भविष्य देख्नै सकेको छैन र विदेशिन बाध्य छ । देशमा प्रयोग हुने लगभग जस्तो बस्तु आयातित हो, उत्पादन शून्य बराबर छ ।

रेमिटेन्स मुख्य आय स्रोत भएको देशमा कर्मचारीलाई तलव खुवाउन ऋण ल्याउनु पर्ने अवस्था साच्चै नै दु:खलाग्दो हो । वैदेशिक ऋणको अङ्क क्याल्कुलेटरमा अटाउन नसक्ने अवस्था छ । देशमा जस्तोसुकै सङ्कट आओस्, दिनदिनै दु:ख गरेका शिक्षक-कर्मचारिको तलव काटिन्छ तर नेताले आफ्नो कुनै पनि खर्च कटौती गर्ने वा घटाउ गर्नेवाला छैनन्, मितब्ययिता त नेपाली नेतासङ्ग जेठाजु बुहारीको सम्बन्ध बराबर हो । ठूला भ्रष्टाचारका काण्डहरू हुन्छन्, सकेसम्म दलले आफ्नालाई बचाउने गरेका छन् । स्रोतहरूको दोहन गरिएको छ, घुस खुलमखुल्ला जस्तै छ । साच्चै नै अहिलेका दलका नेताले नेपाली जनतामाथि अपराध गरेका छन् । कुनै दलबाट आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभएपछि अर्को दलमा प्रवेश गर्ने अवसरवादीहरूलाई समेत हामीले सजिलै विश्वास गर्ने गर्छौं । यिनै अपराधिलाई साथ दिएर र यी दललाई बारम्बार सत्तामा पुर्‍याएर हामीहरू दलहरूले गर्ने अपराधका कतै न कतै जिम्मेवार छौँ । फेरि पनि हामीसङ्ग हामीले गरेको कमजोरी सच्याउने अवसर हुन्छ, आफ्नो दल सच्याएर वा आवधिक निर्वाचनमा मत परिवर्तन गरेर । लोकतन्त्रको यो सुन्दर पक्ष हो ।

अरूले राज्य स्रोतको दोहन गर्दा आफुले गर्न पाइएन भनेर राजा चाहिन्छ भन्ने, कुनै दलका नेता कार्यकर्ताले मात्र अवसर पाउँदा आफुले अवसर पाइएन भनेर राजा चाहिन्छ भन्ने कुरा मुर्खतापूर्ण मात्र होइन वाहियात हो, इतिहासको अपमान हो । इतिहासलाई अध्ययन गरौँ, राजा हुँदा पनि देशको सिमा मिचिएको थियो, विदेशी सेना नेपालमा बसेका हुन्थे । वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता थियो, बोलेकै आधारमा कारवाही भोग्नुपर्थ्यो । हो, हामीले अवलम्बन गरिरहेको अहिलेको लोकतान्त्रिक व्यवस्था पूर्ण छैन, कैयौं सच्याउनुपर्ने ठाउँ छन् । तर पूर्ण छैन भन्नुको अर्थ अगाडी बढ्ने हो, पछाडी फर्कने होइन । सच्याउने हो, झन बिगार्ने होइन । यो व्यवस्थासङ्ग हाम्रा कैयौं समस्याहरूको समाधान छैन तर हामीसङ्ग हाम्रा समस्याहरूको बारेमा सत्ता र दलसङ्ग बार्गेनिङ गर्ने सुनौलो अवसर छ र त्यो अवसर हो “आवधिक निर्वाचन” । र यो अवसरको हामीले सदुपयोग गर्नुपर्छ । आगोले पोल्यो भने पोलेको ठाउँमा पानीले चिसो बनाइरहने हो, पानी राख्दा पनि पोल्न छोडेन भनेर रिसले फेरि आगोमै झोस्ने होइन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार