विद्यार्थी तथा अभिभावकसङ्ग अपिल

आदरणीय अभिभावक तथा विद्यार्थीहरू !

शिक्षकहरूको आन्दोलनले तपाईंहरू आफ्नो बालबच्चाको पढाईप्रती चिन्तित हुनुहुन्छ । विद्यार्थीहरू आफ्नो परीक्षा र पढाईप्रती अन्योल हुनुहुन्छ । तपाइँहरूमाथी पर्न गएको असुविधाप्रति सर्वप्रथम त हामी आफैलाई दु:ख लागेको छ । हाम्रो उद्देश्य विद्यालय बन्द गर्ने, अरूलाई दु:ख दिने आदि त हुँदै होइन । हाम्रो उद्देश्य केवल यत्ति हो कि राज्य शिक्षाप्रती साच्चै नै गम्भीर बनोस् र दीर्घकालिन प्रभाव राख्ने, लाखौंलाख जनता र देशको भविष्य निर्धारण गर्ने शिक्षा ऐन छिटो भन्दा छिटो आओस् ।

हामीलाई हामी आफैले पढाइरहेका विद्यालयलाई आफैले ताला ठोकेर बस्ने रहर कहिल्यै होइन । काठमाडौंका गल्लीहरूमा डुल्ने रहर कहिल्यै होइन । काठमाडौंको प्रदुषणमा जानीजानी रस्वास्थ्यलाई जोखिम पार्ने रहर त झन कहिल्यै होइन । मुख्य कुरा पढाउनै बन्द गर्ने रहर होइन । यदि त्यस्तो हुन्थ्यो भने हाम्रो आन्दोलन माघमा शुरु भएको थियो । तर त्यतिबेला हामीले एकदिन पनि स्कुल बन्द गरेनौं । स्कुल बन्द गरेर काठमाडौं उत्रेको त चैत्र २० देखि मात्रै हो, जतिबेला सम्पूर्ण विद्यालय स्तरको पढाई सकिएर परीक्षा पनि सकिने समय थियो । कक्षा १२ को परीक्षा बैशाख ११ गतेदेखि तय भएको थियो । त्यसैले आन्दोलन र १२ को परीक्षाको बीचमा २०/२२ दिनको फरक रहेको थियो । हामीलाई लागेको थियो, सरकार शिक्षाको सम्बन्धमा गम्भीर बन्नेछ । तर हामीलाई गलत सावित गर्‍यो । राज्य गम्भीर बन्ने त परको कुरा हो । राज्यले हाम्रो आन्दोलनलाई भयंकर बेवास्ता गर्‍यो । बेवास्ता नगरेको बेलामा खिसिट्युरी गर्‍यो । मन्त्रीहरूले राजावादीलाई सहयोग गर्न आन्दोलन गरेको आरोप लगाउन थाले । प्रधानमन्त्रीले पढाई सकेर सडकमा हल्लिन आएको भन्न थाल्नुभयो । यसरी हामीले नचाहेरै आन्दोलन लम्बिएको छ ।

हामीले कैयौंपटक आन्दोलनहरू गरेका छौँ तर ती आन्दोलनले हाम्रा मागहरूलाई उल्लेख्य सम्बोधन गर्न सकेका छैनन् । यसको मुल कारण के हो भने राज्यले हामीसङ्ग सहमती गर्ने भएकाले हामीले आन्दोलन रोक्ने गर्‍यौं तर ती सहमतिलाई कार्यान्वयन गर्ने क्रममा हामीमाथि धोका भयो । त्यसैले अहिले हाम्रो अठोट भनेकै आन्दोलनमा उधारो सम्झौता नगर्ने हो । यो आन्दोलन कहिलेसम्म जान्छ भन्ने कुराको एउटै जवाफ के हो भने जतिबेलासम्म राज्यले हामीलाई बेवास्ता गरिरहन्छ, त्यतिबेलासम्म यो आन्दोलन चलिरहन्छ । शिक्षकहरूले घर छोडेको १७/१८ दिन भैसक्दा पनि थाक्नुभएको छैन । आन्दोलनमा शिक्षकहरूको उत्साह, समुदायको समर्थन साच्चै नै लोभलाग्दो छ । यो अवस्थामा यो आन्दोलनलाई यत्तिकै रोक्ने छुट हामीलाई छैन । यो अवस्थामा हामीले आन्दोलनलाई सम्झौतामा छोडेर ब्याक भयौं भने त्यो लाखौं शिक्षकमाथीको धोका हुन जान्छ । त्यसैले राज्य गम्भीर नबन्दासम्म यो आन्दोलन चलिरहन्छ ।

यो आन्दोलनमा हामीलाई केही आरोप लगाइएको छ । शिक्षकहरूले आफ्नो तलव र भत्ता बढाउन भन्दै आन्दोलन गरेका छन् भनेर भ्रम छरिएको छ । तर कुरा त्यस्तो होइन । हरेक पेशामा आफ्ना पेशागत सुरक्षा, सेवा र सुविधा त हुन्छन् नै तर यो आन्दोलनको मुख्य एजेन्डा अरू हो । त्यो के हो भने शिक्षामा आमूल परिवर्तन हो । २८ सालमा बनेको ऐनले अहिलेको शैक्षिक अवस्थालाई सम्बोधन गर्न सकेन । नयाँ ऐनमार्फत शिक्षामा देखिएका विद्यमान समस्याको हल नै यो आन्दोलनको मुख्य मुद्दा  हो । १८ थरिका शिक्षक बनाउने अनि त्यसैमा विभेद जगाउने र समग्र शिक्षण पेशालाई नै अपमान गर्ने अवस्थाको अन्त्य हुनुपर्छ । राज्यमा शिक्षकको अभाव स्पष्ट देखिएकै छ । त्यसलाई परिपुर्ति गर्न नगरपालीकाले नगर अनुदान शिर्षकमा शिक्षकहरू नियुक्ति गरेका छन् । जसले आज पनि ७/८ हजार पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ । कर्मचारीले न्युनतम तलव नपाएको अवस्था छ । यी विद्यमान समस्याको हल भनेकै नयाँ ऐन मार्फत पुरानो व्यवस्थाको विस्थापन हो । त्यसैका लागि यो आन्दोलन हो । केही मान्छेहरूले शिक्षा ऐनमा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्छ भन्ने कुरा राख्नुपर्छ भनेर उठाउनुभएको छ । सामुदायिक विद्यालयमा यदि गुणस्तर खस्किएको छ भने त्यसको कारण शिक्षकले आफ्ना सन्तानलाई सामुदायिक स्कुलमा नपढाएकाले होइन । तर एउटा शिक्षकले सामुदायिक विद्यालयमा आफ्ना सन्तान भर्ना गर्दैन र निजिमै राख्छ भने त्यो उसको नैतिकताको बिषय हो । आफ्ना सन्तानलाई निजिमा पढाएर अरूलाई तपाइँका सन्तान हाम्रो सामुदायिक स्कुलमा पढाउनुहोस् भन्न कुनै पनि शिक्षकलाई नैतिकताले दिने कुरै होइन । यो सन्दर्भमा सरकारले निति, ऐन बनाएरै शिक्षकका सन्तानलाई अनिवार्य सामुदायिक स्कुलमा भर्ना गर्ने व्यवस्था गरोस् हामी तयार छौँ । तर यो अवस्था आउन नदिन शिक्षकहरूले नै आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुहुनेछ, आशा गरौँ । त्यतिमात्र होइन, शिक्षकलाई कडाई गर्ने ठाउँ छ भने सरकारले कडाइ गरोस्, ऐन बनाओस् । कारवाही गर्ने ठाउँमा शिक्षकलाई कारबाही गरोस् तर सधै अपमान मात्रै नगरोस् । हामीलाई चिन्ता छ कि कक्षा १२ को परीक्षा अन्योलमा छ, भर्ना अभियान प्रभावित बन्यो र विद्यालयका कैयौं क्रियाकलापहरू ठप्प छन् । तर, के यी सबैको कारण शिक्षक हुन् त ? पक्कै होइन । हामीले धेरै नै कोसिस गरेका थियौं कि हाम्रो आन्दोलनले विद्यालयको शैक्षिक गतिविधिमा असर नगरोस् । त्यसैले माघदेखि शुरु भएको आन्दोलनलाई सरकारले नसुनेपछि चैत्रको २० देखि मात्रै काठमाडौंमा केन्द्रित गर्‍यौं । तर, सरकारले बेवास्ता गर्दैगर्दै आजको दिनसम्म ल्याइपुर्‍यायो र शैक्षिक क्षतिलाई बढाउँदै ल्यायो । त्यसकारणले शैक्षिक आन्दोलनका कारण हुन गएको क्षतिको जिम्मेवार पुरापुर राज्य हो र अहिलेको सरकार हो । तर पनि हामीले कक्षाकोठामा प्रवेश गरेपछि विद्यालयमा भएको सम्पूर्ण क्षतिको पुर्ती गर्न हाम्रो पूरा सामर्थ्य लगाउने नै छौँ ।

यो आन्दोलन कहिलेसम्म जान्छ ? केही निश्चित छैन । हामी यो आन्दोलनलाई निर्णायक आन्दोलन बनाउने उद्देश्यमै छौँ । ताकी शिक्षकहरू बारम्बार सडकमा निस्किरहन नपरोस्, आन्दोलन गरिरहन नपरोस् । आजका दिनसम्म हामी धेरै अगाडी आइसक्यौं, यहाँसम्म आइपुग्दा हामीलाई यो आन्दोलनबाट बिना कुनै उपलब्धी ब्याक हुने छूट छैन । बरू यतिबेला हामीले आम बिद्यार्थी र अभिभावकको समर्थन खोजिरहेका छौँ । पूर्ण समर्थनको आशा सहित आजसम्मको साथ र सहयोगप्रती आभारी छौँ । हामी त कक्षाकोठामा प्रवेश गर्न आतुर छौँ । विद्यार्थीहरूलाई नयाँ जोश र उत्साहका साथ नयाँ शैक्षिक शत्र शुरु गर्न चाहन्छौं । हामीलाई सरकारले कक्षाकोठामा प्रवेश गर्ने वातावरण बनाइदिओस् ।

लेखक:- सागर बेल्वासे, भूमिकास्थाान अर्घाखाँची 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार