श्यामलाल पोखरेल
बुटवल, असार ९
अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बिरुद्व रुपन्देहीमा क्रियाशील विभिन्न दलले बिरोधसभा गरेका छन् । एमसीसी सम्झौता राष्ट्रको हित विपरित भएको भन्दै विभिन्न ११ दलले बुटवलमा सभाको आयोजना गरी बिरोध गरेका हुन् । नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र, नकपा संयुक्त, जागरण मञ्च, राष्ट्रिय जागरण परिषद्, नेपाल लगायतका बिभिन्न दलले एमसीसीको बिरोध गर्दै आएका छन् । संसदबाट एमसीसी पास गराएर सरकारले नेपाल र नेपाली जनताको हित बिपरित नेपालमा अमेरिकी सेना भित्राउन लागेको भन्दै सरकारको बिरोध गरेका छन् । सोही कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदीले एमसीसीका कारण बैदेशीक हस्तक्षेप बढेको बताउनु भयो । उहांले एमसीसी खारेज गर्नका लागि सरकारकालाई खवरदारी गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा रुपन्देही अध्यक्ष बद्रे आलमले सरकारले ल्याउन लागेको एमसीसी परियोजना संसद र सदनबाट फेल गराउनुको विकल्प नभएको बताउनु भयो । एमसीसी लागू भए नेपाल अमेरिकी सेनाको सैन्य अखडा बन्ने उहांको तर्क छ । नेकपा मसालका प्रवक्ता नारायण जीसीले एमसीसी मुलुकको हित विपरित रहेको दावी गर्दै भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न र कालापानीबाट भारतीय सेना हटाउन अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी मालेका स्थायी समिति सदस्य गोपालमणि गौतमले संसदबाट एमसीसी पास गराएर सरकारले जनतालाई झुक्काउन लागेको दावी गर्नुभयो । नेकपा सयुक्तका कृष्णबहादुर गुरुङले एमसीसी पास भए विदेशीले नेपालको भूमिलाई प्रयोगशालाको रुपमा प्रयोगगर्ने बताउनु भयो । नेकपा मालेका नेता गोपालमणि गौतमले एमसीसीका बिरुद्व जनतालाई सचेत गराएर सरकारलाई खवरदारी गर्नुपर्ने बताउनु भयो । जागरण मञ्चका नेता खगुपती न्यौपानेले एमसीसीको सम्झौताबाट अमेरिकन लगानी भित्राएर सरकारले नेपाली जनताको नाममा व्यापार गर्न लागेको दावी गर्नुभयो । राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका अध्यक्ष पदमबहादुर कार्कीले विकासको नाममा एमसीसी ल्याएर सरकारले जनतामा भ्रम सिर्जना गरेको बताउनु भयो । देशभक्त गणतान्त्रिक मोर्चाका दलबहादुर छन्त्यालले एमसीसी समझौता राष्टघाती भएको दावी गर्नुभयो । राष्ट्रिय जागरण परिषद् नेपाल, रुपन्देही अध्यक्ष चित्रबहादुर थापाले एमसीसी संसदबाट पास गराउन खाजेर सरकारले जनहित विपरित काम गरेको बताउनु भयो । नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासीनीको अध्यक्षता र राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।