एमसीसी राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय एकताको बाधक

श्यामलाल पोखरेल
बुटवल, असार २० ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिरोधमा रुपन्देहीको मणिग्राममा विरोध प्रदर्शन गरिएको छ । एमसीसी नेपालको राष्ट्रिय हित विपरित भएको भन्दै बिरोध प्रदर्शन गरिएको हो । स्वतन्त्र नागरिक समूह, नेपालको आयोजनामा एमसीसी सम्झौता बिरुद्व बिरोध प्रदर्शन गरिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका अध्यक्ष पदमहादुर कार्कीले ओली सरकारले भित्राउन लागेको एमसीसी खारेज नभए देशको स्वाधिनता, एकता र अखण्डतामा आंच आउने बताउनु भयो । एमसीसीले सत्तापक्ष नेकपा, प्रतिपक्ष कांगे्रस लगायतका राजनीतिक दल र समाजलाई नै विभाजनमा ल्याएको बताउंदै खोरेज गर्नुको अर्को कूनै विकल्प नभएको बताउनु भयो । विकासको नाममा नेपाली जनतालाई भ्रममा पारेर ल्याउन लागिएको एमसीसीले विकास होइन विनास गर्ने उहांको दावी छ । पूर्व राज्यमन्त्री प्रकाश चित्रकारले एमसीसी नेपालको हितमा नभएकाले पार्टी र जाती भन्दा माथि उठेर एमसीसीका बिरुद्व एकजुट हुनुपर्ने बताउनु भयो । नेपालको विकासको लागि एमसीसी सम्झौता गर्न नपर्ने बताउंदै उहांले भन्नुभयो नेपालकै श्रोतसाधन र जनशक्ति प्रयोग गरेर पनि विकास गर्न सकिन्छ । पूर्व सांसद विनोद पहाडीले कोशी, गण्डकी सम्झौता, महाकाली सन्धि बहुसंख्यक नेपालीले बिरोध गर्दागर्दै पास गरिएकाले अहिले धोक्का भएको उल्लेख गर्दै एमसीसी पनि नेपालको लागि धोक्का हुने बताउनुभयो । सर्तसहितको एमसीसी संसदबाट पास गराइए नेपालले ठूलो मुल्य चुकाउनु पर्ने उहांको तर्क छ । युवा अभियान्ता नारायण नागगिलाले अहिले नेपालमा एमसीसी ल्याउनु भनेको हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनु हो भन्नुभयो । सत्ता सञ्चालक शासकहरुले देश र जनताको हितमा भन्दा पनि आफ्नो हितमा एमसीसी ल्याउन लागेको दावी गर्दै यसका बिरुद्व खवरदारी आवश्यक रहेको बताउनु भयो । अहिले एमसीसी पास भए आउने दिनमा नेपाली जनताले अमेरिकी र चिनिया सेनाको बम बारुदको सामना गर्नुपर्ने दिन आउन सक्ने बताउनु भयो । स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रेको अध्यक्षता, टोपबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा गणेश पाठक, सागर न्यौपाने लगायतका युवाहरुले बोल्दै एमसीसीले राष्ट्रिय स्वाधिनता, एकता र अखण्डतामाथि खलल पुराउने भएकाले एमसीसी संसदबाट पास नगराउन सरकारसंग माग गर्नुभयो । राष्ट्रियता, राष्ट्रिय एकता, जनतन्त्र, जनजीवीका, मानव अधिकार, पे्रस स्वतन्त्रता पक्षमा र भारतले ७२ स्थानमा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउनका लागि कूनैपनि दल निकट नभैइ नेपाल र नेपालीको हितमा स्वतन्त्र नागरिक समूह, नेपाल क्रियाशील रहेको अध्यक्ष विश्वराज गैरेले बताउनु भयो । स्वतन्त्र नागरिक समूह, नेपाल देश र जनतालाई समस्यामा परेको अवस्थामा राज्य, सरकार, राजनीतिक दल र गलत काम गर्नेहरुका बिरुद्व दवाव दिनका लागि स्वतन्त्र नागरिक समूह नेपाल गठन गरिएको अध्यक्ष गैह्रेको भनाइ छ । सरकारले संसदबाट पास गराउन लागेको एमसीसी गलत भएको ठहर गरेर एमसीसीको बिरुद्व आवाज उठाइएको अध्यक्ष गैह्रे बताउनु भयो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार