
साउन १९ बुटवल । प्रदेश ५ को राजधानी बुटवलमा आइतबार कोरोना भाइरसको संक्रमण देखिएका व्यक्ति कार्यालय नजाँदै पीसीआर परीक्षण गराइएको रोजगारदाता संस्था डेल्टा एजुकेशन मार्ट बुटवलले जनाएको छ।
कतिपय व्यक्तिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा डेल्टामा कार्यरत व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको भनेको भन्दै डेल्टाले ती व्यक्ति काममा जानुअघि पीसीआर परीक्षण गरेको बताएको हो।
डेल्टा एजुकेशन मार्टका डीजीएम प्रकाश भुसालले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्-डी इ एम गारमेन्ट प्रालिमा काम गर्न बारा जिल्लाका कारिगर आउँदै गर्दा निजलाई कम्पनीले पीसीआर परीक्षण विना काम गर्न नमिल्ने बताएपछि बाटोबाटै अस्थायी कोरोना अस्पताल धागो कारखानामा पीसीआर परीक्षण गर्न जाँदा कोरोना पोजेटिभ देखिन आएकोले निजलाई सोही अस्पतालमा भर्ना भइ उपचार गरेको थाहा हुन आएको छ।’
ती व्यक्ति मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्टमा कार्यरत नभई गारमेन्टमा कार्यरत रहेको उनले बताए। उनले डेल्टा एजुकेशन मार्ट प्रालिमा कार्यरत कर्मचारीमा कोरोना देखियो भन्ने सूचनामा सत्यता नरहेको बताए।
‘हामीहरुले सरकार र डब्लुएचओको मापदण्डअनुसार सुरक्षित भएर एजुकेशन मार्ट सञ्चालन गरिरहेका छौ-उनले भने-हामी हाम्रा ग्राहकको स्वास्थ्य सुरक्षाप्रति पूर्ण रुपमा सजग र सतर्क छौं, हाम्रा कर्मचारीबाट पनि कुनै किसिमको लापरबाही भएको छैन र हुँदैन।’
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पनि ती व्यक्ति काममा जानुअघि नै परीक्षणका लागि अस्पताल आएको र पोजेटिभ देखिएपछि उपचारका लागि भर्ना गरिएको बताएको छ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले ती व्यक्ति अरु कुनै व्यक्तिको सम्पर्कमा नगएको बताए। त्यसबारे थप अध्ययन जिल्ला जनस्वास्थ्य कार्यालयले ट्रेसिङ र थप विवरण लिने उनले बताए।
स्रोत : lumbini time.com