
साउन ३१ काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले माओवादीले आफूलाई सर्वहाराको पार्टी भनिरहँदा त्यसकै नेताहरु भने सामन्ती हुँदै गएको बताएका छन् । शनिबार र आइतबार २ दिनसम्म काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा नेताहरूले आफ्नै नेताको जीवनशैलीलाई लिएर चर्को आलोचना गरेका हुन् ।
समूह नम्बर ८ को तर्फबाट रिपोर्टिङ गर्दै टोली नेता युवराज चौलागाईंले पार्टी र नेताको जीवन शैलीमा गम्भीर प्रश्न उठाउनु भयो । उहाँले पार्टीले आफूलाई सर्वहाराको प्रतिनिधि भनिरहँदा नेताहरु भने सामन्ती बन्दै गएको टिप्पणी गर्नुभयो ।
‘पार्टीका अधिकांश नेताहरुको जीवन शैली र पार्टीको राजनैतिक लाइन मिलेको छैन’ बैठकमा उहाँको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसले हाम्रो पार्टीलाई नराम्ररी गाँजेको छ। कसरी सुधार्न सकिएला ?’
उहाँले पार्टीको नेतृत्व पारदर्शी हुन नसकेको पनि टिप्पणी गर्नुभएको छ । ‘पार्टी र नेताहरुको जीवनशैलीबीच ठ्याक्कै मेल खाएन। हाम्रो पार्टीमा अझै पनि खुलेर बहस गर्न सकिएको छैन’ उहाँले बैठकमा सुझाव राख्दै भन्नुभयो, ‘यसबारेमा नेतृत्व र पार्टीको ध्यान गएको छैन । यसमा खुला बहस हुनुपर्छ। पार्टीलाई पारदर्शी बनाउनु अहिलेको आवश्यकता हो ।’
बैठकमा समूहगत सुझाव दिने क्रममा माओवादीको आफ्नै लाइन नभएको पनि गुनासो गरेका थिए । नेताहरुले माओवादीलाई कांग्रेस(एमालेले पालैपालो एकअर्काविरुद्ध प्रयोग गरिरहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए ।
बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग एकता भएर नेकपा बनाउनुलाई सही कदम भनेकोमा पनि नेताहरुले तिखो टिप्पणी गरेका छन्।
नेकपा माओवादी केन्द्रमा पनि नेतृत्व परिवर्तनको मुद्दा उठेको छ ।बैठकमा नेताहरुले नेतृत्व परिवर्तनका लागि अब महाधिवेशनमा जानुपर्ने दबाब दिएका हुन् ।
बैठकमा शनिबार बनाइएका आठवटा समूहको तर्फबाट सुझाव पेश गर्दै टोली नेताहरुले अब राष्ट्रिय सम्मेलनभन्दा नेतृत्व परिवर्तनका लागि महाधिवेशनमै जानुपर्ने कुरा उठाएका हुन्। माओवादीमा पुष्पकमल दाहाल प्रचण्ड करिब ३२ वर्षदेखि नेतृत्वमा रहँदै आउनुभएको छ ।
बैठकमा प्रदेश १ बाट राम कार्की, प्रदेश २ बाट रामचन्द्र झा, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी, सम्पर्क प्रदेशरबिशेष प्रदेशर प्रवास र केन्द्रीय कार्यालयबाट युवराज चौलागाईंले सुझाव पेश गरेका थिए।
माओवादी केन्द्रले प्रतिगामी कदमप्रति सचेत रहँदै संविधानको रक्षा र कार्यान्वयन तथा लोकतन्त्रको रक्षाका लागि सचेत रहन पनि आह्वान गरेको छ । बैठकले आगामी पुस ११,१२ र १३ गते पार्टीको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय समितिको बैठकबाट ४ वटा समसामयिक विषयहरु पारित गरेको छ । उहाँले महकाली नदीमा भारतीय एसएसबीबाट तुइन काटेर जयसिंह धामी बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण भएको र तत्काल सरकारलाई दोषीमाथि कारबाही गर्न माग गर्ने जानकारी दिनुभयो । साथै उहाँले पार्टीको केन्द्रीय समिति बैठकमा बेलायती सेनामा कार्यरत गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनसनमा ऐक्यवद्धता जनाउने, बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्ने, कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग गर्ने बताउनुभयो ।