
गाेपालप्रसाद भट्टराई,
अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान–४, धारापानीमा सञ्चालन भएको बिशेषज्ञ सेवा सहितको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले सेवा लिएका छन् ।
भूमिकास्थान नगरपालिकाको आयोजना, देउराली यातायात अर्घाखाँची प्रा.ली.को सह–आयोजना र मेडिटेक इन्टरनेश्नल हस्पिटल एण्ड रिर्सच सेन्टर बुटवलको प्राविधिक सहयोगमा संचालित शिविरमा ६ सय १६ जनाले सेवा लिएका हुन् ।
धारापानी स्वास्थ्यचौकीको प्राङ्गणमा एक दिन शनिबार मात्र सञ्चालन भएको शिविरमा भूमिकास्थानको धारापानी र ढाकावाङ्गका अधिकांश नागरिकले सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख सुरेश गैरेले जानकारी दिनुभयो । धारापानी स्वास्थ्यचौकी प्रमुख रामु के.सी.का अनुसार १ सय ५३ जनाले ल्यावको सेवा लिनुभएको छ ।
यस्तै १ सय ४५ जनाले इ.सी.जी.सेवा, ८५ जनाले भिडियो एक्सरे सेवा र स्वास्थ्य परिक्षण गराएका मध्ये आवश्यक बिरामीले औषधि समेत निःशुल्क नै प्राप्त गर्नुभएको प्राविधिक सहयोग गर्ने मेडिटेकका जनसम्पर्क अधिकृत बाबुराम खनालले बताउनुभएको छ ।
भूमिकास्थान नगरप्रमुख झविलाल थापा, उप–प्रमुख बालकृष्ण बन्जाडे र निमित्त प्रमुख प्रशासकिय अधिकृत तुवलाल सापकोटाले ग्रामिण तहका नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर आयोजना गरिएको शिविरमा उत्साहजनक सहभागिताले खुशी तुल्याएको बताउनुभएको छ।
निजि क्षेत्रले नाफा कमाउनु मात्रै उदेश्य नराखेर सामाजिक कार्यमा समेत लगानी र योगदान गरेको भन्दै देउराली यातायात र मेडिटेक बुटवललाईभूमिकास्थान नगरपालिकाले बिशेष धन्यवाद दिएको छ ।
बुटवल सहितका ठुला शहरमा पाउने विभिन्न बिशेषज्ञ सहितको सेवा गाउँमै लिन पाउँदा नागरिक निकै खुसी भएको सह–आयोजक देउराली यातायात अर्घाखाँची प्रा.ली.का अध्यक्ष गोविन्द प्रसाद बन्जाडेको भनाई छ ।
भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी र वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद बन्जाडेले ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि स्वास्थ्य शिविर आयोजना गरेर सफल पार्न सहयोग गर्ने सम्पूर्ण पक्ष र टिमलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
शिविरमा मेडिटेक इन्टरनेश्नल हस्पिटल एण्ड रिर्सच सेन्टर बुटवलका निर्देशक समेत रहनुभएका स्त्री तथा प्रसुतीरोग बिशेषज्ञ डा.सतिश रुपाखेती, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा.सुशिल पोख्रेल, जनरल फिजिशियन डा.माधव बन्जाडे, रेडियोलोजिष्ट डा.ज्ञानचन्द्र पौडेल र मेडिकल अफिसर डा.धमेन्द्र मेहताले निःशुल्क रुपमा विशेषज्ञ सेवा प्रदान गर्नुभयो। भने हस्पिटल प्रशासन प्रमुख कृष्ण प्रसाद ज्ञवाली र जनसम्पर्क अधिकृत बाबुराम खनाल सहित २० जनाले शिविरमा प्राविधिक सहजीकरण गर्नुभयो ।
बिरामी जाँचपछिको प्रतिक्रियामा डाक्टरहरुले पछिल्लो समय खानपान र जिवनशैली नै अस्वस्थकर हुँदै जाँदा स्वास्थ्यमा विभिन्न समस्या पैदा हुने गरेको भन्दै सचेतता पूर्वक जिवन अगाडि बढाउन सुझाव दिनुभएको छ ।